बिजुली निर्यातको नयाँ ढोका खोल्दै नेपाल: चिलिमे–केरुङ प्रसारण लाइन अघि बढ्ने

काठमाडौं । नेपालले चीनतर्फ विद्युत् निर्यातको सम्भावना विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। सरकारले नेपाल–चीन जोड्ने बहुप्रतिक्षित ‘चिलिमे–केरुङ’ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई ‘लेटर अफ रिप्लाइ’ पठाउने निर्णय गरेको छ।

ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार यो निर्णयले नेपाल–चीनबीच ऊर्जा सहकार्यको ढोका औपचारिक रूपमा खुल्ने संकेत दिएको छ। यसअघि भारत र बंगलादेशसँग विद्युत् व्यापार विस्तार गरिसकेको नेपालले अब उत्तरी छिमेकी चीनसँग पनि विद्युत् आदान–प्रदान गर्ने रणनीतिक लक्ष्यतर्फ महत्वपूर्ण प्रगति गरेको मानिएको छ।

प्रस्तावित प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् क्षेत्रमा उत्पादन हुने अतिरिक्त विद्युत् केरुङ नाका हुँदै चीनतर्फ पुर्‍याउने सम्भावना रहनेछ। परियोजना सञ्चालनमा आएमा नेपालले आफ्नो जलविद्युत् उत्पादनलाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्दै आम्दानीको नयाँ स्रोत विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार यो आयोजना केवल व्यापारिक दृष्टिले मात्र नभई नेपाललाई क्षेत्रीय ऊर्जा हब बनाउने दीर्घकालीन रणनीतिमा समेत महत्वपूर्ण कदम सावित हुन सक्छ।

सरकारी निर्णयसँगै अब परियोजनाको प्राविधिक अध्ययन, लगानी संरचना र कार्यान्वयन मोडालिटीबारे दुई देशबीच थप छलफल हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
232 Shares