चितवनमा क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका युवक पक्राउ, १७ मोबाइलसहित उपकरण बरामद

चितवन । भरतपुर महानगरपालिकामा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार तथा सञ्चयमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको साविक संग्रामधुकरही गाउँपालिका–७ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१०, चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, यादवले आफ्नो डेरा कोठाबाट बिनान्स (Binance) र बाइबिट (Bybit) लगायतका क्रिप्टोकरेन्सी एक्सचेन्ज एप प्रयोग गरी अवैध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

सोही सूचनाका आधारमा प्रहरीले जेठ १५ गते साँझ करिब ६:३० बजे उनलाई नियन्त्रणमा लिएको हो।

उनको कोठा तथा शरीर खानतलासी गर्दा विभिन्न कम्पनीका १७ थान टचस्क्रिन मोबाइल फोन र ३ थान किप्याड मोबाइल फोनसहितका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
TOP
442 Shares