प्रहरी अस्पतालकी एसएसपीविरुद्ध अख्तियारमा उजुरी, एम्बुलेन्स दुरुपयोगदेखि शैक्षिक योग्यतासम्म छानबिनको माग

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक प्रहरी उपरीक्षक (एसएसपी) डा. दीपा न्हूच्छे प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। शैक्षिक योग्यता, विशेषज्ञ दर्ता, रेडियोलोजी अभ्यास तथा विगतमा विभागीय कारबाही सिफारिस भएको विषयलाई बेवास्ता गर्दै जिम्मेवारी दिइएको आरोपसहित आयोगमा उजुरी परेको हो।
२०८२ चैत १९ गते आयोगमा दर्ता भएको बेनामी उजुरी (C०५३४५५/२०८२–१२–१९) मा डा. प्रधानले पेश गरेका शैक्षिक प्रमाणपत्र, नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा भएको दर्ता, रेडियोलोजी विभागमा गरेको अभ्यास तथा विभागीय नेतृत्वबारे विस्तृत छानबिन गर्न माग गरिएको छ।
उजुरीमा डा. प्रधान २०६६ सालमा एमडी रेडियोडायग्नोसिस अध्ययनका लागि चीन गएको उल्लेख गर्दै फर्किएपछि उनले एमडी नभई ‘डिप्लोमा इन आर्मी मेडिसिन (मेडिकल इमेजिङ)’ सम्बन्धी प्रमाणपत्र पेश गरेको दाबी गरिएको छ। उक्त योग्यताको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नगरिएको तथा सोही आधारमा विशेषज्ञ चिकित्सकसरह कार्य गर्दै आएको आरोप पनि उजुरीमा उल्लेख छ।
त्यस्तै, अध्ययन अवधि, प्रशिक्षण तथा पोस्टिङसम्बन्धी कागजातमा समेत प्रश्न उठाइएको छ। अध्ययन अवधिको केही समयको शैक्षिक अभिलेख उपलब्ध नभएको भन्दै सम्बन्धित निकायबाट त्यसबारे स्पष्ट जवाफ आउनुपर्ने माग उजुरीकर्ताले गरेका छन्।
उजुरीमा डा. प्रधानले आवश्यक विशेषज्ञ योग्यता र कानुनी आधारबिना लामो समयदेखि रेडियोलोजीसम्बन्धी रिपोर्टिङ तथा निदानको कार्य गर्दै आएको आरोप लगाइएको छ। साथै, नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रक्रियामाथि पनि छानबिन हुनुपर्ने माग गरिएको छ।
यसैबीच, डा. प्रधान यसअघि लुम्बिनी प्रदेश प्रहरी अस्पतालको प्रमुख रहँदा अस्पतालको एम्बुलेन्स दुरुपयोग तथा भन्सारसम्बन्धी विषयमा पनि विवादमा तानिएको उजुरीमा उल्लेख छ। स्रोतका अनुसार उक्त घटनापछि नेपाल प्रहरीले डीआईजी सानुराम भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले घटनालाई गम्भीर ठहर गर्दै विभागीय कारबाही तथा निलम्बनसम्मको सिफारिससहित प्रतिवेदन बुझाएको दाबी स्रोतको छ।
उजुरीमा कारबाही सिफारिस भएको दाबी गरिएकी चिकित्सकलाई त्यसपछि नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभाग प्रमुखको जिम्मेवारी दिइएको उल्लेख गर्दै यसबारे पनि छानबिन आवश्यक रहेको माग गरिएको छ।
यद्यपि, उजुरीमा लगाइएका आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेका छैनन्। साथै, डा. प्रधानको प्रतिक्रिया पनि प्राप्त हुन सकेको छैन।

Facebook Comments Box
TOP
435 Shares