

‘इन्ड्राइभ’मा राइड बुक गर्दा चिनजान, तेस्रो दिनमा मदिराले लठ्याएर १४ वर्षीया बालिका बलत्कृत
काठमाडौं : राइड सेयरिङ एप ‘इन्ड्राइभ’ मार्फत भएको चिनजानका आधारमा एक १४ वर्षीया नाबालिकालाई मदिरा सेवन गराई बलात्कार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कागेश्वरी मनोहरा नगरपालिका-८, किरातचोक लक्ष्मणनगर बस्ने २३ वर्षीय सुशील मोक्तानविरुद्ध बलात्कारको अभियोगपत्र दर्ता गरेको हो।
पीडित बालिकाका आमाबुबा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको र घरमा कोही अभिभावक नभएको अवस्थामा अभियुक्तले योजनाबद्ध रूपमा यो अपराध गराएको अभियोगपत्रमा उल्लेख छ। पीडित बालिका काठमाडौंको टोखा नगरपालिका-६, जालपाचोकमा डेरा गरी बस्दै आएकी थिइन्।
अभियोगपत्रमा उल्लेख भए अनुसार, गत जेठ १४ गते बेलुकी उनले आफ्नो गन्तव्यमा जानका लागि इन्ड्राइभ एपमार्फत मोटरसाइकल बुक गरेकी थिइन्। उक्त मोटरसाइकलका चालक सुशील मोक्तान थिए। सोही यात्राका क्रममा उनीहरूबीच पहिलो पटक सामान्य कुराकानी र चिनजान भएको थियो।
त्यसको भोलिपल्ट अर्थात् जेठ १५ गते सुशिलले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडितलाई सम्पर्क गरी भेट्न आउन दबाब दिएका थिए। तर, पीडितले समय नमिलेको भन्दै अस्वीकार गरिन्।
जेठ १६ गते बेलुकी करिब ७ बजे सुशीलले फेरि फोन गरेर ‘म आफैँ लिन आउँछु र तिम्रो कोठासम्म सुरक्षित छोडिदिन्छु’ भने। सुशीलको कुरा पत्याएर पीडित बेलुकी करिब ८ बजे उनको मोटरसाइकलमा चढिन्।
सुशीलले पीडितलाई जोरपाटी लैजाने भन्दै मोटरसाइकल अघि बढाए। सुशीलका अन्य साथीहरू पनि पहिल्यैदेखि भएको जोरपाटीको नारायणटारस्थित आफ्ना दाजु र भाउजूको कोठामा पीडितलाई पुर्याए। सुशिलले बाहिरबाट मदिरा (बियर) किनेर ल्याई साथीहरूसँग खान थाले।
उनले पीडितलाई पनि मदिरा सेवन गर्न बारम्बार दबाब दिए। पीडितले अस्वीकार गर्दागर्दै पनि सुशीलले जबर्जस्ती मदिरा पिउन लगाए। कोठामा मदिरा पिउने र गफगाफ गर्ने क्रममै बिहानको करिब ३ बजिसकेको अभियोगपत्रमा उल्लेख छ।
त्यसपछि पीडितले आफ्नो डेरामा फर्काइदिन आग्रह गरेपछि सुशीलले उनलाई मोटरसाइकलमा राखे। तर, उनले सिधै डेरामा नलगी बाटोबाट थप दुई बोतल बियर किनेर कागेश्वरी मनोहरा-८ स्थित आफ्नै कोठामा पुर्याए।
आफ्नो डेरा कोठामा पुगेपछि सुशीलले भित्रबाट ढोकामा चुकुल लगाए। त्यहाँ दुवैले थप मदिरा सेवन गरे। बिहान करिब ४:३० बजे मदिरा सकिएपछि सुशीलले पीडितलाई जबर्जस्ती ताने।
पीडितले आफ्नो असहमति जनाउँदै प्रतिकार गर्ने प्रयास गरे पनि मदिराको नशा र शारीरिक बलको प्रयोग गरी सुशीलले उनको कपडा खोली जबर्जस्ती करणी गरे। करणी पश्चात् सुशील सोही ओछ्यानमा निदाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्।
शौचालय जाने बहाना र लोकेशन पठाएर उद्धार
सुशील निदाएपछि पीडितले शौचालय जाने बहाना गरिन् र ढोका खोली आफ्नी साथीलाई फोन गरेर आफ्नो अवस्थाबारे जानकारी दिँदै मोबाइलबाट लोकेशन पठाइन्।
लोकेशनका आधारमा पीडितकी साथी तत्कालै सुशीलको कोठामा पुगिन्। साथीले तुरुन्तै प्रहरीको १०० नम्बरमा फोन गरी घटनाबारे जानकारी दिइन्। बिहान करिब ६ बजे प्रहरीको टोली घटनास्थल पुगेर अभियुक्त सुशील मोक्तानलाई नियन्त्रणमा लियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्ने क्रममा कोठाभित्र ओछ्यानमा गुलाबी रङको तन्ना, चुरोटका खाली बट्टा, नेपकिनका टुक्रा, दुइवटा गिलास र दुइवटा बियरका खाली बोतलहरू बरामद गरेको छ।
पीडितको महाराजगञ्जस्थित अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले करणी भएको पुष्टि गरेको छ। प्रतिवेदनमा पीडितको शरीरका विभिन्न भागमा चोटपटक लागेको र यौनाङ्गमा घाउ भई सुन्निएको प्रष्ट रूपमा उल्लेख गरिएको छ।
घटनाबारे बुझिएका पीडितकी साथी, सागर वाइवा, प्रहाय ढुंगाना र घरधनी अजार्नु गिरीको बयानमा सुशिलले पीडितलाई मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको कुरामा एकरूपता पाइएको छ। घरधनी गिरीले बिहान कोठामा कसैले चिच्याएको आवाज सुनेर आफू तल झरेको तर ढोका बन्द रहेकाले फर्किएको बयान दिएका छन्।
यता, अभियुक्त सुशील मोक्तानले भने आफ्नो बयानमा जबर्जस्ती करणी नगरेको र दुवैको आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेका छन्।
घटनाको समयमा पीडित बालिका १४ वर्षकी मात्र थिइन्। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको सहमतिमै करणी गरे पनि त्यसलाई कानुनतः जबर्जस्ती करणी नै मानिन्छ।
संहिताको दफा २१९ (३) (ग) अनुसार १४ वर्षदेखि १६ वर्षमुनिकी बालिकामाथि जबरजस्ती करणी गर्नेलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
उकेराबाट साभार
समाज
थप सामाग्री-
‘राज्य आतंक बन्द गर’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन, पुनःस्थापनाको माग
-
आजदेखि देशभर ‘जाँड’ प्रदर्शनमा, मद्यपान र सामाजिक विकृतिविरुद्ध सन्देश बोकेको चलचित्र
-
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने
-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१५ घण्टा अगाडि
2.6kViews 439 Shares Share on Facebook Share on Twitter मेष दाम्पत्य जीवनमा आपसी समझदारी बढ्दै जानेछ र सम्बन्ध अझ सुमधुर…





