मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड, नेपाल र खनाल एउटै मञ्चमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गर्न लागेको कार्यक्रममा चारै जना पूर्वप्रधानमन्त्रीको सहभागिता रहने भएको हो।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा असार १४ गते आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको फाउन्डेसनले जनाएको छ। उक्त कार्यक्रममा ओली, प्रचण्ड, नेपाल र खनालले एउटै मञ्च साझा गर्नेछन्।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता रहने जनाइएको छ।

वि.सं. २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनको राजनीतिक योगदान, विचार तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानबारे चर्चा गरिनेछ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

Facebook Comments Box
TOP
482 Shares