

वर्षाले देशभर सडक प्रभावित, विभिन्न सडकखण्डमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्डको आवागमन प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा तोकिएको समयबाहेक सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ।
यता, इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडकमार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग इकुमा पहिरो खसेपछि तथा सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले अवरुद्ध सडकखण्डमा बाढी तथा पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरीले सडकमा यात्रा गर्दा मौसम तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ अघि बढ्नसमेत अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
आज भदौ ३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष– दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।…





