आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय तथा युनिटका प्रमुखहरूलाई संगठनलाई थप चुस्त, जिम्मेवार र प्रभावकारी बनाउँदै नागरिकको सुरक्षा उच्च प्राथमिकतामा राखेर काम गर्न कडा निर्देशन दिएका छन्।

आईजीपी कार्कीले बिहीबार भर्चुअल माध्यमबाट नेपाल प्रहरीका विभिन्न ब्यूरो, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा परिसर, ट्राफिक प्रहरी कार्यालय, विशेष सुरक्षा गण, विमानस्थल सुरक्षा कार्यालयलगायतका प्रमुखलाई सम्बोधन गर्दै समसामयिक सुरक्षा अवस्था र प्रहरी कार्यसम्पादनबारे आवश्यक निर्देशन दिएका हुन्।

भर्चुअल बैठकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर तथा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्रमुखहरूको सहभागिता थियो।

त्यस्तै, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरू पनि बैठकमा सहभागी थिए।

आईजीपी कार्कीले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। प्रहरी संगठनको जिम्मेवारी नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र नागरिकमैत्री सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए।

आफ्नो जिम्मेवारी क्षेत्रमा देखिन सक्ने सुरक्षा चुनौती पहिचान गरी समयमै आवश्यक कदम चाल्न, प्रहरी सेवामा निरन्तर सुधार ल्याउन तथा संगठनको गरिमा र जनविश्वास कायम राख्न सक्रिय भएर काम गर्नसमेत उनले निर्देशन दिए।

बैठकमा समसामयिक सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन र संगठनका विभिन्न विषयमा छलफल भएको थियो। भर्चुअल बैठकमार्फत आईजीपी कार्कीले देशभरका प्रहरी युनिटबीच प्रभावकारी समन्वय, चुस्त कार्यसम्पादन र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्।

उनले प्रहरीको कार्यसम्पादनमा कुनै किसिमको कमजोरी हुन नदिन तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूलाई विशेष ध्यान दिनसमेत निर्देशन दिएका छन्।

Facebook Comments Box
TOP
15 Shares