काभ्रेमा एक महिनामै ७४ आपराधिक घटना, ७६ प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउन महिनामा ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये ४१ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने बाँकी घटनाको अनुसन्धान जारी छ।

प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ७६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पछिल्ला केही महिनायता जिल्लामा आर्थिक तथा वित्तीय अपराधको ग्राफ बढ्दै गएको देखिएको छ।

साउनमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी १८ वटा बैंकिङ कसुरसम्बन्धी छन्। यस्तै, साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीसम्बन्धी १२ वटा मुद्दा दर्ता भएका छन्। सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, बोक्सीको आरोप, जबर्जस्ती करणी तथा करणी उद्योगजस्ता गम्भीर प्रकृतिका मुद्दासमेत दर्ता भएका छन्।

यस अवधिमा सवारी ज्यानसम्बन्धी मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। साथै, प्रहरीले एक वर्ष चार महिना १५ दिन बराबरको कैद सजाय कार्यान्वयन गर्नुका साथै २९ लाख ६९ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।

सडक सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणका क्रममा प्रहरीले ६५९ वटा सवारीसाधनलाई कारबाही गरी ६ लाख १ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट थप ३ लाख १७ हजार रुपैयाँ राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १०७ वटा अवैध भट्टी नष्ट गरिएको छ। प्रहरीले त्यहाँबाट १ हजार ३९८ लिटर अवैध घरेलु मदिरा३ हजार ३५ लिटर कच्चा पदार्थ बरामद गरेको छ।

अपराध न्यूनीकरण तथा नागरिकमा सचेतना अभिवृद्धिका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन तथा लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममार्फत १९ हजार ९१३ नागरिकलाई सचेतना प्रदान गरिएको डीएसपी विष्टले जानकारी दिए।

प्रहरीले नागरिकको धनजनको सुरक्षा तथा अपराध नियन्त्रणका लागि नियमित गस्ती, सरप्राइज चेकिङ र प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares