नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव भव्य समारोहबीच सम्पन्न

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव विशेष समारोहबीच सम्पन्न भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको प्रमुख आतिथ्यतामा बिहीबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा समारोह आयोजना गरिएको हो।

समारोहको उद्घाटन मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा उहाँले संघले वर्षभरि सञ्चालन गरेका सामाजिक, मानवीय तथा परोपकारी गतिविधि एवं समसामयिक विषयमा आधारित लेख–रचनाहरू समेटिएको वार्षिक स्मारिका ‘सहचरी–२०८३’ को विमोचनसमेत गर्नुभयो।

कार्यक्रममा मन्त्री बादीले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक अध्यक्ष पुष्पा बस्नेत, KIN INDIA का निर्देशक नवीन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा तथा राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गर्नुभयो।

मन्त्री बादीले बदलिँदो सामाजिक आवश्यकता र समयको मागअनुसार नेपाल प्रहरी श्रीमती संघले आफ्नो सेवाको दायरा निरन्तर विस्तार गर्दै सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीय योगदानको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी परिवारले देखाउँदै आएको धैर्य, साहस, त्याग र मौन योगदान उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवामार्फत शक्तिमा रूपान्तरण गर्नु संघको विशिष्ट पक्ष भएको बताउनुभयो।

कार्यक्रमकी विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा तथा मानवीय कार्यमार्फत संघले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा प्रहरी परिवारको हितसँगै सामाजिक कुरीति, विकृति र विसंगति अन्त्य, सामाजिक सुधार तथा महिला सशक्तीकरणका क्षेत्रमा संघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संघको ४२औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। कर्तव्य पालनाका क्रममा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीलाई संघले गर्दै आएको सहयोगले कठिन समयमा आत्मीयता र एकताको अनुभूति गराएको उहाँले बताउनुभयो।

प्रहरी परिवारका सन्ततीका लागि छात्रवृत्ति, स्वास्थ्यसम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनमा फसेकाहरूको उपचार तथा पुनर्स्थापना, महिला नेतृत्व विकास र राहत वितरणलगायतका कार्यक्रममार्फत संघले सेवाको दायरा फराकिलो बनाउँदै लगेको पनि उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा सामाजिक, मानवीय तथा परोपकारी सेवामा अझ समर्पित हुँदै समाज र प्रहरी परिवारबीचको मानवीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्नुभयो। संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवामा प्रशंसनीय तथा उल्लेखनीय कार्य गर्ने व्यक्ति, प्रहरी कर्मचारी तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो।

संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै स्थापनाकालदेखि नै सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई मूल आधार बनाएर प्रहरी परिवार तथा समाजको हितमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताउनुभयो। आगामी दिनमा सेवाको दायरा अझ फराकिलो बनाउँदै सामाजिक रूपान्तरण तथा महिला सशक्तीकरणका क्षेत्रमा प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

संघकी सचिव वरुणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले ‘सहचरी’ गीत प्रस्तुत गरेका थिए। विभिन्न कलाकारले सांस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरेका थिए। साथै, संघले स्थापनाकालदेखि हालसम्म सञ्चालन गरेका सामाजिक, मानवीय तथा लोककल्याणकारी गतिविधि एवं संघ र प्रदेशस्तरमा सम्पन्न विभिन्न कार्यक्रम समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

वार्षिकोत्सव समारोहले नेपाल प्रहरी परिवारको कल्याणसँगै सामाजिक सेवा, मानवीय सहयोग र महिला सशक्तीकरणका क्षेत्रमा संघले निर्वाह गर्दै आएको भूमिकालाई थप उजागर गरेको छ।

Facebook Comments Box
TOP
15 Shares