भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार, युवकको मृत्यु; एक पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ निवासी २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ निवासी १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। घटनापछि फरार रहेका प्रमित पटेलको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनाको कारण र अन्य संलग्न व्यक्तिबारे समेत आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Facebook Comments Box
TOP
15 Shares