

तस्कर भगाएको प्रकरणः गलत विवरण बुझाएको आरोपमा सई शर्मा जिल्लामा तानिए

सप्तरी । भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विवादमा मुछिएका इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मालाई जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएको छ।
तस्करीका सामानसहित पक्राउ परेका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुको साटो छाडिएको आरोप तथा घटनाबारे माथिल्लो निकायमा गलत विवरण पेस गरिएको प्रारम्भिक छानबिनबाट देखिएपछि सई शर्मालाई शुक्रबार इलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा झिकाइएको प्रहरी स्रोतले जनाएको छ।
घटना साउन १८ गते बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा भएको स्थानीयको दाबी छ। स्थानीयका अनुसार भारतबाट भन्सार छली गरी ल्याइएको मोबाइल पार्ट्स तथा मोटरसाइकलसहित भरिया सुनिल मण्डललाई प्रहरीले स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो। पक्राउ परेका मण्डललाई मोटरसाइकल र सामानसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइन लगिएको थियो।
यस्तै, मण्डललाई छुटाउन मुख्य कारोबारी भनिएका देवकुमार यादव प्रहरी कार्यालय पुगेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको विषय सार्वजनिक भएको थियो।
तर, घटनाको अनुसन्धान र कानुनी कारबाही अघि बढाउनुको साटो पक्राउ परेकाहरूलाई प्रहरी कार्यालयबाटै छाडिएको आरोप लागेपछि प्रहरीको भूमिका गम्भीर विवादमा परेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको विवरण पनि स्थानीयले बताएको घटनाक्रमभन्दा फरक देखिएको आरोप लागेको छ। घटनासम्बन्धी विवरण मुचुल्कासमेत फेरबदल गरिएको आशंकाले थप प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा भने साउन १९ गते राति करिब १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको रातो रङको हिरो एक्स्ट्रिम १६० सीसी मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएको थियो।
प्रहरीको दाबीअनुसार प्रहरी टोलीलाई देखेपछि तस्करहरूले मोटरसाइकल र सामान राखिएका बोरा सोही स्थानमा छाडेर फरार भएका थिए। पछि बोराहरू खोलेर जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको विज्ञप्तिमा उल्लेख थियो।
तर, स्थानीयले भने सामानसहित व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिइएको समय साउन १८ गते अपराह्न करिब ३ः३० बजे रहेको दाबी गर्दै आएका छन्। घटनाको वास्तविक समय, स्थान र पक्राउसम्बन्धी विवरणभन्दा फरक विवरण सार्वजनिक गरिएको भन्दै इलाका प्रहरी कार्यालय बोदेबरसाइनको भूमिका शंकाको घेरामा परेको हो।
यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्काको नामसमेत जोडिएपछि घटना थप चर्चामा आएको थियो। घटनाबारे समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनका क्रममा सई शर्माले घटनासम्बन्धी वास्तविक विवरणभन्दा फरक जानकारी माथिल्लो निकायमा पेस गरेको देखिएको छ। तस्करीमा संलग्न भनिएका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विषयमा विवाद बढ्दै गएपछि उनलाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय तानिएको हो।
घटनाको थप छानबिन जारी रहेको प्रहरीले जनाएको छ। छानबिनबाट तथ्य फरक देखिएमा संलग्नमाथि विभागीय तथा कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter कार्कीमाथि प्रहारको असली खेलाडी को? प्रहरीमा फर्किन खोज्दैछन् पुराना बिचौलिया नेपाल…





