आईजीपीको नामदेखि ‘हनी ट्र्याप’सम्मः ७९ लाख असुलीको आरोपमा रिता पौडेल, डेढ लाख धरौटीमा रिहा

काठमाडौं । कहिले जिल्ला प्रहरी परिसरको आसपास, कहिले प्रहरी प्रधान कार्यालयबाहिरको दृश्य । आफूलाई प्रहरी कर्मचारी भन्दै विभिन्न व्यक्तिसँग परिचय दिने ३३ वर्षीया एक महिलामाथि अन्ततः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नाम र पहुँचसमेत प्रयोग गरेर मानिसलाई डर–त्रास देखाई रकम असुलेको आरोपमा अनुसन्धान अघि बढ्यो।

प्रहरी महानिरीक्षककै नाममा पैसा उठाएको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको थियो। त्यसपछि विभिन्न सञ्चारमाध्यममा ती महिलाबारे समाचार प्रकाशित भए। अनुसन्धानका क्रममा प्रहरी महानिरीक्षकसँग निकट सम्बन्ध रहेको, आफू प्रहरी कर्मचारी भएको तथा विभिन्न व्यक्तिलाई आफ्नो पहुँच प्रयोग गरेर सहयोग वा हानि गर्न सक्ने भन्दै डर–त्रास देखाउने गरेको आरोप लागेपछि उनलाई नियन्त्रणमा लिइयो।

ती महिला हुन लमजुङको  मध्यनेपाल नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ३३ वर्षीया रिता पौडेल।

प्रहरीका अनुसार सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफूले कुनै प्रहरी कर्मचारीको नाम लिएर धम्की नदिएको र कसैसँग रकम नउठाएको दाबी गरेकी थिइन्।

तर अनुसन्धानका क्रममा उनीसँग सम्बन्धित अडियो, सामाजिक सञ्जालका सन्देश तथा स्क्रिनसट प्रहरीसमक्ष पुगेका थिए। ती सामग्रीमा उनले आफू प्रहरी कर्मचारी भएको, भर्खरै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग भेटघाट गरेको, लागूऔषधका ठूला कारोबारी पक्राउ गरेको तथा आफू एक डीएसपीकी श्रीमती भएको जस्ता दाबी गरेको देखिएको अनुसन्धानमा उल्लेख छ।

यसपछि प्रहरीले उनको मोबाइल बैंकिङ, बैंक स्टेटमेन्ट, च्याट विवरण, कल रेकर्डलगायतका डिजिटल प्रमाणको अनुसन्धान अघि बढाएको थियो।

रिता पक्राउ परेको खबर पाएपछि खुल्यो ७९ लाखको कथित ‘हनी ट्र्याप’

रिता पक्राउ परेको सूचना एक महिलासम्म पुग्यो। ती महिला रिताबाट पीडित भएको दाबी गर्दै प्रहरीसमक्ष पुगेकी थिइन्।

परिवर्तित नाम सुनिता श्रेष्ठ खड्काले आफ्ना श्रीमान्, परिवर्तित नाम शंकर खड्का, रिताको कथित ब्ल्याकमेलिङको शिकार बनेको भन्दै जाहेरी दिइन्। जाहेरीअनुसार रिताले शंकरलाई ‘हनी ट्र्याप’मा पारी बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै कुल ७९ लाख रुपैयाँ लिएको आरोप छ।

पीडित पक्षका अनुसार सुरुमा शंकरबाट ४७ लाख रुपैयाँ लिइएको थियो। त्यसपछि थप रकमका लागि धम्की बढ्दै गएपछि शंकरले सबै कुरा आफ्नी श्रीमतीलाई बताएका थिए।

जाहेरीमा रिताले रकम नदिए बलात्कारको मुद्दामा फसाइदिने, जेल पठाइदिने, विदेश जान रोक्ने र भविष्य बर्बाद पारिदिने धम्की दिने गरेको उल्लेख छ।

शंकरले आफू र परिवारको इज्जत जोगाउन भन्दै रकम दिएको र त्यसपछि पनि ब्ल्याकमेलिङ नरोकिएको पीडित पक्षको दाबी छ। त्यसपछि सुनिताले समेत विभिन्न स्रोतबाट रकम जुटाएर थप ३२ लाख रुपैयाँ दिएको जाहेरीमा उल्लेख छ।

यसरी नगद तथा बैंकिङ प्रणालीमार्फत गरी कुल ७९ लाख रुपैयाँ आपराधिक लाभ लिएको आरोप लगाइएको छ।

टिकटकबाट चिनजान, भेट्न कतारसम्म पुगेकी रिता

प्रहरीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार रिता र शंकरको चिनजान करिब डेढ वर्षअघि टिकटकमार्फत भएको थियो।

रिताले आफू नेपाल प्रहरीमा कार्यरत रहेको तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने काममा संलग्न रहेको भन्दै विभिन्न तस्बिर र विवरण देखाउने गरेको अभियोगपत्रमा उल्लेख छ। प्रहरी कार्यालयअगाडि खिचिएका तस्बिर पोस्ट गर्ने, प्रहरी महानिरीक्षकलाई भेटेर आएको तथा रिपोर्टिङ गरेर आएको जस्ता विवरण सुनाएपछि शंकरले उनलाई वास्तविक प्रहरी कर्मचारी नै भएको विश्वास गरेको अनुसन्धानमा उल्लेख छ।

रिताले आफू एक डीएसपीकी श्रीमती भएको र श्रीमान्सँग सम्बन्ध राम्रो नभएको समेत बताउने गरेको दाबी गरिएको छ।

कतारमा कार्यरत शंकरसँग रिता क्रमशः भावनात्मक रूपमा नजिकिएको र पछि दुवैबीच आपसी सहमतिमै शारीरिक सम्बन्धसमेत भएको दुवै पक्षले स्वीकार गरेको बताइएको छ।

रिता शंकरलाई भेट्न कतारसमेत पुगेकी थिइन्। उनी पहिलो पटक कतार पुगेर करिब १५ दिन शंकरसँग बसेको र दोस्रो पटक पनि कतार गएको अभियोगपत्रमा उल्लेख छ।

तर सम्बन्ध नजिकिँदै गएपछि कथित ब्ल्याकमेलिङ सुरु भएको पीडित पक्षको आरोप छ।

पैसा नदिए बलात्कार मुद्दामा फसाइदिन्छु’

जाहेरीअनुसार शंकर कतार फर्कने तयारीमा रहेका बेला रिताले उनीविरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा लगाएर जेलमा सडाइदिने, विदेश जान नदिने र भविष्य बर्बाद पारिदिने भन्दै रकम माग्न थालेकी थिइन्।

‘जेल जान र बाँच्न मन छ भने पैसा दिनु’ भन्दै रकम मागिएको पीडित पक्षको दाबी छ।

पीडितले आफूहरूबीचको सम्बन्ध सहमतिमा भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे पनि धम्की नरोकिएको जाहेरीमा उल्लेख छ। रकम दिएपछि पनि थप रकमको माग जारी रहेको र सक्कल नागरिकता तथा मोबाइल बैंकिङको पहुँचसमेत दबाबमा लिइएको आरोप लगाइएको छ।

शंकर कतारमा रहेका बेला उनको सिमकार्ड र मोबाइल बैंकिङको पहुँच रितासँग रहेको र सोही माध्यमबाट रकम विभिन्न खातामा स्थानान्तरण गरिएको अनुसन्धानमा उल्लेख छ।

रिताले कहिले आफू झुन्डिएर मर्ने भन्दै तस्बिर र सन्देश पठाउने, कहिले विभिन्न प्रहरी अधिकारीसँग आफ्नो पहुँच रहेको दाबी गर्ने र कहिले विभिन्न मुद्दामा फसाइदिने धम्की दिने गरेको अभियोगपत्रमा उल्लेख छ।

४७ लाख रुपैयाँ दिइसक्दा पनि रकमको माग र धम्की नरोकिएपछि शंकरले घटना श्रीमतीलाई बताएका थिए। त्यसपछि श्रीमानलाई जोगाउने र परिवारको इज्जत बचाउने उद्देश्यले सुनिताले थप ३२ लाख रुपैयाँ दिएको दाबी गरिएको छ।

मोबाइल बैंकिङको पहुँचबाट रकम स्थानान्तरण

अभियोगपत्रमा पीडितको मोबाइल बैंकिङमा रिताको पहुँच रहेको र सोही माध्यमबाट विभिन्न खातामा रकम स्थानान्तरण गरिएको उल्लेख छ।

शंकर कतारमै रहेका बेला पटकपटक रकम जम्मा भएको र ती रकम विभिन्न बैंक खाता तथा भुक्तानीका माध्यमबाट प्रयोग गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा सितापाइलास्थित प्रिमियर अटोमोबाइल्स प्रालिको बैंक खातामा शंकरको बैंक खाताबाट ६ लाख ८० हजार रुपैयाँ जम्मा भएको देखिएको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै, शंकरका साथी विवेक मण्डलको नामबाट विभिन्न पटक रकम पठाई कुल ११ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको तथा अक्षय कुमार शर्मामार्फत रिताको ग्लोबल आईएमई बैंक खातामा ११ लाख रुपैयाँ जम्मा भएको विवरणसमेत अनुसन्धानमा समेटिएको छ।

पीडित पक्षका अनुसार शंकरले नगद र बैंकिङ प्रणालीमार्फत गरी ४७ लाख रुपैयाँ बुझाएका थिए भने उनकी श्रीमतीले थप ३२ लाख रुपैयाँ दिएकी थिइन्।

आपराधिक लाभको रकमबाट साथीको नाममा घडेरी किन्न बैना गरेको आरोप

अनुसन्धानका क्रममा रिताले कथित रूपमा आपराधिक लाभबाट प्राप्त रकम प्रयोग गरी अर्कै व्यक्तिको नाममा जग्गा खरिदका लागि बैना गरेको समेत खुलेको प्रहरीले जनाएको छ।

घटना विवरणअनुसार काठमाडौंको तारकेश्वर–चिसापानी क्षेत्रमा ४ आना जग्गा किन्न धादिङकी विमला नगालको नाममा बैना गरिएको थियो।

बैना रकमबापत सुरुमा एक लाख रुपैयाँ मोबाइल बैंकिङमार्फत दिइएको र पछि ३० लाख रुपैयाँको चेकसमेत दिइएको अनुसन्धानमा उल्लेख छ।

जग्गा कारोबारसँग जोडिएर प्रिमियर अटोमोबाइल्सको खातामा जम्मा भएको रकमको स्रोत र प्रयोजनबारे समेत अनुसन्धान गरिएको थियो। बयानका क्रममा सम्बन्धित व्यक्तिहरूले उक्त रकम जग्गा बैनासँग सम्बन्धित रहेको बताएका छन्।

पछि रकम भुक्तानी हुन नसकेपछि विवाद उत्पन्न भएको र बैना नै फिर्ता भएको अनुसन्धानबाट खुलेको बताइएको छ।

नक्कली जाहेरी’ देखाएर थप रकमको दबाब

रिताले विभिन्न प्रहरी कार्यालयमा जाहेरी परेको जस्तो देखिने कागजातको तस्बिर शंकरलाई पठाएर थप धम्की दिएको आरोप पनि अनुसन्धानमा उल्लेख छ।

‘नेपाल आउँदा सिधै एयरपोर्टबाट जेल जाने’ भन्दै डर देखाइएको तथा जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन वरिष्ठ अधिकारीको नामसमेत जोडेर मुद्दा दर्ता भइसकेको जस्तो सन्देश पठाइएको दाबी गरिएको छ।तर अनुसन्धानका क्रममा रिता र ती प्रहरी अधिकारीबीच चिनजानसमेत नरहेको पाइएको थियो।

यसरी ह्वाट्सएपमार्फत झुटा जाहेरी र कागजात देखाएर आफूविरुद्ध मुद्दा चल्न लागेको भन्दै पीडितलाई डर देखाई थप रकम मागिएको अभियोगपत्रमा उल्लेख छ।

रिताको दाबी भने फरक

रिताले भने आफूले कसैलाई ब्ल्याकमेल नगरेको दाबी गरेकी छन्।उनको बयानअनुसार शंकरले आफू डिभोर्स भइसकेको र विवाह गर्ने आश्वासन दिएपछि उनीहरूबीच सम्बन्ध बनेको थियो। पछि शंकर विवाहित रहेको तथा डिभोर्स नभएको थाहा पाएपछि आफू टाढिएको उनको दाबी छ।

उनले जबरजस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएको, मोबाइल बैंकिङ कब्जामा राखेर रकम स्थानान्तरण गरेको तथा विभिन्न व्यक्तिसँग मिलेर आपराधिक लाभ लिएको आरोप अस्वीकार गरेकी छन्।

शंकरले विदेशबाट फर्कँदा आफ्नो नागरिकता र अन्य सामान स्वेच्छाले राख्न दिएको र आफूले जबरजस्ती नलिएको उनको बयान छ।

अक्षय कुमार शर्मामार्फत आफ्नो बैंक खातामा जम्मा भएको रकम पनि शंकरकै आग्रहमा आएको र पछि उनले दिएको खातामा पठाएको रिताको दाबी छ। प्रिमियर अटोमोबाइल्समा भएको भुक्तानीबारे भने आफूलाई जानकारी नभएको उनले बताएकी छन्।

यद्यपि, अनुसन्धानका क्रममा बयान दिएका केही व्यक्तिले जग्गा बैना र रकम भुक्तानीमा रिताको भूमिका रहेको बताएका छन्।रिताले सामाजिक सञ्जालमा ‘झुन्डिएर मर्छु’ भन्ने सन्देश र तस्बिर पठाएको स्वीकार गरे पनि त्यो ब्ल्याकमेलिङका लागि नभई विवाहको आश्वासन पूरा नभएको र आफू पीडामा परेको कारण पठाएको दाबी गरेकी छन्।

बैंक स्टेटमेन्टदेखि डिजिटल फरेन्सिकसम्मका प्रमाण

प्रहरीले बैंक स्टेटमेन्ट, डिजिटल फरेन्सिक परीक्षण, सामाजिक सञ्जालका सन्देश, कल डिटेल, यात्रा विवरण तथा विभिन्न व्यक्तिको बयानका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

ती प्रमाणका आधारमा रिताले डर, त्रास र धम्की देखाएर बैंकिङ तथा नगद माध्यमबाट कुल ७९ लाख रुपैयाँ आपराधिक लाभ लिएको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

प्रहरी वृत्त कालीमाटीको प्रतिवेदनका आधारमा गत साउन २५ गते काठमाडौं जिल्ला अदालतमा रिताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दर्ता भएको थियो।

हेर्दाहेर्दै’पछि डेढ लाख धरौटीमा रिहा

मुद्दामा साउन २६ गते काठमाडौं जिल्ला अदालतमा बयान भएको थियो। त्यस दिन थुनछेक बहस नसकिएपछि मुद्दा साउन २७ गतेका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

भोलिपल्ट थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि अदालतले रितासँग १ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो। धरौटी बुझाएर उनी रिहा भएकी छन्।काठमाडौं जिल्ला अदालतको उक्त थुनछेक आदेशविरुद्ध सरकारी वकिल पक्षले भने रितालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गर्दै उच्च अदालत पाटन जाने तयारी गरेको बताइएको छ।

प्रहरी महानिरीक्षकको नाम र प्रहरी संगठनसँगको कथित पहुँच देखाएर विश्वास दिलाउने, टिकटकबाट सुरु भएको सम्बन्धलाई रकम असुलीको माध्यम बनाउने र बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै ७९ लाख रुपैयाँसम्म लिएको आरोप—यिनै तथ्य र प्रमाणमाथि अब अदालतमा विस्तृत कानुनी परीक्षण हुनेछ।

Facebook Comments Box
TOP
15 Shares