सुगन्धकोकिलाको उत्पादनमा गिरावट

दाङ । विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् ।विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए । “विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थियौँ”, उनले भने, “गएको वर्ष पनि बर्सातले गर्दा फूल झारिदिएपछि दुई सय ५० क्विन्टल मात्रै उत्पादन भएको थियो, यस जर्ष झन घटेर ५० क्विन्टलभन्दा बढी उत्पादन हुन सकेन ।”विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो रु पाँचसयमा बिक्री हुँदै आएको छ । “हामीले रु पाँचसयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौँ तर यहाँबाट लिएर साहुले रु छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्”, उनले भने, “घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ ।”

सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के वनछ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”, उनले भने, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।”

एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेपनि यस वर्ष भने बर्सातले आम्दानी घटेको कृषक कृष्ण रेउलेले बताउुनभयो । विगतमा एउटै रुखबाट रु ४० हजारदेखि दुई लाखसम्म आम्दानी गर्ने गरिन्थ्यो । छिल्लीकोटका दश गाउँका एक सय ३५ घरले नै सुगन्धकोकिलाबाट आश्रित छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रुख छन् भने सामुदायिक वनमा पनि सुगन्धकोकिलाका रुख रहेका छन् ।

सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको कृषक प्रवीरले बताए । कहिलेकाहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ ।

लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न पनि राज्यले ध्यान दिन नसकेको गुनासो गर्दै उनले भने, “पहिले–पहिलेका रुख पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।”

पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पीपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमासमेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

सुगन्धकोकिला समुद्र सतहदेखि १५ मिटरको दूरीमा हिमालको हावा बहने जङ्गलमा  फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो ।

अहिले जङ्गलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयवासीको भनाइ छ । छिल्लीकोटमा एक सय छ परिवार छन् । ती सबैले मल्लागिरिबाटै आफ्नो जीवन चलाउने गरेका छन् । मल्लागिरिको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरबत्ती निर्माणका लागि प्रयोग गरिन्छ भने मल्लागिरिको गेँडाबाट तेल बनाउन प्रयोग हुन्छ । रासस

Facebook Comments Box
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि

1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

TOP
Shares