
घोडेपानीमा गुराँस ‘पार्क’
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान ९पार्क० निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
“उद्यान बनाउन डिभिजन वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो”, उनले भने, “ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ ।”घना गुराँसे जङ्गलबीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए ।
“पार्कभित्र ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ”, उनले भने “पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।” पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वर्ड वाचिङ प्वाइन्ट बनाइएको थियो ।
घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि गुराँस पार्क सहयोगी बन्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घन्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।
घान्द्रुकबाट घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । त्यसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा आठ प्रजातिका पाइन्छन् । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ ।
फर्कँदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीवराहबाट घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।
प्रदेश सरकारले अघिल्लो वर्ष रु २५ लाख खर्चेर घोडेपानीबाट कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब सात किमी साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदलमार्ग बनाएको थियो ।
डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्कले पर्यापर्यटनमा योगदान पुर्याउने र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास गरे । डिभिजन वन कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण–७ रिमागाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो । फूलबारीमा रु १० लाख ७० हजार बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाइएको छ ।रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



