बाढी आयो खेत खण्डहर बनायो

पाँचथर ।  धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन। बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ। खेतको नाममा बगरभन्दा अलि माथि दुई÷चार फोक्टा मात्र बाँकी छन्। फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए। ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन।’ बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए। ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए।

फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो। यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो।

‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन। यो साल धानको नुवागी गर्न पनि नपाइने भो।’

गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो। बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो। असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ।

बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन्। सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन। खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares