जनयुद्धको एक दशक र सञ्चार संघर्ष

महेश्वर दाहाल

एलेण्डे विरोधी अभियान चलाउन र अखबारलाई सक्षम बनाइराख्न चिलीमा सबैभन्दा बिक्री हुने पत्रिका एल मरक्युरियोका लागि सीआईएले गुप्त रुपबाट साढे एघार मिलियन डलरको व्यवस्था गरेको कुरा न्युयोर्क टाइम्सले केही वर्ष पहिले खुलासा गरेको थियो । एल मरक्युरियोका सम्पादक अगस्टिन एडवड्र्स पेप्सी कोलाका अध्यक्ष डोनल्ड एम केडोलका घनिष्ठ मित्र मानिन्थे । एलेण्डे सरकारका विरुद्ध जनमत बढाएपछि अमेरिकी सहयोगमा सुधारवादी एलेण्डे सरकारलाई ‘कू’ गरियो र त्यसको ठाउँमा खुंखार तानाशाहलाई ल्याइयो । १९७३ मा सरकार बदलिएपछि प्रेस स्वतन्त्रतामाथि पूरै अङ्कुश लगाइयो ।

इराक युद्ध छेड्नुअघि अमेरिकी शासकले इराक विरुद्ध प्रचार माध्यममार्फत् ठूलो अभियान नै छेड्यो । इराकमा विनासकारी हतियार रहेको बहानामा इराकको सार्वभौमसत्तामाथि बलात्कार भयो । इराक युद्धअघि र अहिलेसम्म यसलाई न्यायोचित ठह¥याउन अमेरिकाले सञ्चारका लागि अरबौं रकम छुट्याएको कुरा ‘ओपन सेक्रेट’ जस्तै छ ।

विश्वभरि चलेका न्यायपूर्ण आन्दोलनका विरुद्ध प्रचार अभियानका लागि अमेरिकी शासकले लगानी गरेका यस्ता अनगिन्ती उदाहरण छन्, कतै सीआईएमार्फत् गोप्य पैसा दिएर र धेरै ठाउँमा बहुराष्ट्रिय कम्पनीद्वारा ठूलठूला विज्ञापनमार्फत् आर्थिक लाभ बाँडेर ।

युद्ध र प्रचारबीच अन्योन्याश्रित सम्बन्ध छ । युद्धमा पचास प्रतिशत त प्रचारले नै जितिन्छ भन्ने भनाइ रहेको छ । क्रूर तानाशाह हिटलरको सञ्चार मन्त्री ग्वेवल्सले झूट्टो कुरालाई सय चोटी दोहो¥याउँदा साँचोको भ्रम पार्न सकिन्छ भन्ने मान्यता राख्दथ्यो । त्यसैलाई आदर्श मानेर हिंड्ने देशीविदेशी जनविरोधी शासकहरुले दश वर्ष माओवादीविरुद्ध दुस्प्रचार नै गरे । यो दश वर्षको अवधिमा विदेशी खासगरी अमेरिका र उसको संरक्षणमा रहेको नेपालको तत्कालीन शाही सत्ताले नेपालको क्रान्तिकारी युद्धलाई वदनाम गर्न मिडियामा घोषित–अघोषत ठूलै लगानी ग¥यो । जनविरोधी शासकले झूट्टो प्रचार गरेर नै आफ्नो लूटको स्वर्ग बचाइराख्ने कोशिश गरे । माओवादीइतर आस्था राख्ने पत्रिकाहरुले मात्र होइन आफूलाई स्वतन्त्र र व्यावसायिक पत्रकारिता गर्ने दावी गर्ने ठूला दैनिक पत्रिकाहरुले समेत माओवादी विरुद्ध ‘मिसन’ पत्रकारिता गरे । शाही सरकारको नियन्त्रणमा रहेको सञ्चार माध्यमले त यति धेरै छादे कि त्यसको लेखाजोखा नै छैन । वैधानिक मोर्चामार्फत् चुनावमा उठेर राष्ट्रिय शक्तिको रुपमा मान्यता प्राप्त र संसदमा तेश्रो शक्तिको रुपमा उपस्थित क्रान्तिकारी शक्तिलाई एउटा ‘जंगली’ र ‘कुरुप’ रुपमा चित्रण गर्न खोजियो ।

हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्ती सत्तालाई गाउँ–गाउँबाट उखेल्ने लगायत थुप्रै सकारात्मक कामबारे खासै उल्लेख गरिएन र माओवादी पार्टी, जनयुद्ध र यसको मुख्य नेतृत्वका विरुद्ध नकारात्मक प्रचार गरियो । आफूलाई बहुदलीय प्रतिस्पर्धाको हिमायती भनेर नथाक्ने र विचार प्रवाहलाई निर्वाध छुट दिने भन्नेहरु सरकारमा रहे पनि व्यवहारमा पञ्चायती शैली र संस्कार हटेन । प्रतिगामी पक्षधरहरुलाई प्रेम र समाजमा आमूल परिवर्तन गर्नुपर्छ भनेर लाग्नेहरुलाई घृणा गरियो । यो नीति क्रान्तिकारी पत्रिकाहरुमाथि समेत लागू गरियो । राज्य तहबाट पत्रिकालाई दिइने सुविधाहरुमा भेदभावको नीति मात्र अख्तियार गरिएन, क्रान्तिकारी पत्रिकाहरुलाई नियन्त्रण गर्न अनेकौं प्रयत्न भए । जनता र सत्यको पक्षमा लेख्दा क्रान्तिकारी पत्रिका खासगरी जनादेशका लागि समस्याको अजङ पहाड उभ्याइयो । आफैले लेखेको समाचारले ज्यानको बाजी राख्नुपर्ने अवस्था थियो ।

यद्यपि जनयुद्धको तयारी र सुरुवातदेखि जनादेशले यसको पक्षमा निरन्तर कलम चलायो, जनमुक्तिको विचारलाई प्रवाह गरिरह्यो । सुरुदेखि नै विश्वमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा मन्दी आएको बेलामा सुरु भएको यो विद्रोह ‘निरीह’ थियो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले मात्र होइन सबैभन्दा निकटको मित्र शक्तिका नेता कमरेड निर्मल लामा समेतले यो विद्रोह केही महिनामा समाप्त हुने ‘भविष्यवाणी’ गरे । नेपालका पाका कम्युनिष्ट नेता कमरेड मोहनविक्रम सिंहले त यसको प्रारम्भबाट नै रचनात्मक आलोचना गर्नुभन्दा ध्वंश गर्ने काममा नै लागे । त्यतिबेला ती सबै पक्षको भ्रम चिर्न र जनयुद्धको उपलब्धिको बारेमा प्रचार गर्ने मुख्य प्रचार माध्यम जनादेश नै बन्यो । राजा–महाराजा होइनन् उत्पीडित जनता नै महान् हुन्, इतिहासका निर्माता हुन् भन्ने कुरा जनयुद्धले सावित ग¥यो, जनादेशको समाचारमा पनि यसैले प्राथमिकता पाइरह्यो । जनादेशले जनताको इतिहास लेख्यो । शाही सरकारबाट पालित–पोषित सञ्चार माध्यम, विभिन्न संसदवादी दलसँग निकट पत्रिका, कतिपय निष्पक्ष भनाउँदा ठूला दैनिक सञ्चार माध्यमले माओवादी र जनयुद्धका विरुद्ध गरेको विषवमनलाई प्रतिवाद गर्दै जनतासमक्ष सही विचार, जनविद्रोहलाई संगठित गर्ने विचारलाई सम्प्रेषण गरिरह्यो ।

जतिसुकै दुस्प्रचार र दमन गरे पनि जनयुद्धका कारण शाही सरकार असफल हँुदै गयो । जनतामा वैकल्पिक शक्तिको रुपमा माओवादी देखियो । जनयुद्धको पक्षमा खुल्ला ढङ्गले जनमत बाहिर देखिन थाल्यो । जनादेशसँगै योजना, जनआव्हान, महिमा, पृष्ठभूमि साप्ताहिकहरु र पछिल्लो समयमा जनादिशा दैनिक एवम् दिशावोध मासिकले पनि प्रचार अभियान चलाए । यी बाहेक अन्य थुप्रै पत्रिकाले समेत जनयुद्धको पक्षमा समाचार सम्प्रेषण गरे । पार्टी प्रकाशन, विभिन्न जनवर्गीय संगठनले निकालेका सामग्रीहरुले पनि जनसमुदायको एउटा हिस्सालाई प्रशिक्षण दिइरहेको थियो । माओवादी पार्टीका नेताहरुका विभिन्न पत्रपत्रिकाहरुमा दिइएका अन्तर्वार्ता र लेखहरुले पनि बाहिर पैदा गराइएका भ्रमहरुलाई चिरफार गर्न र आफ्ना विचारहरुलाई आमजनतामा सञ्चार गर्नमा भूमिका खेल्यो ।ली अनेष्टो लगायत पत्रकारहरु, अ वल्र्ड टु विनले जनयुद्धको सुरुवातदेखि नै यसको पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा जनमत बढाउने काम गरे भने अन्य विभिन्न विदेशी सञ्चार माध्यमहरुले यसको पालुवालाई निमोठ्ने प्रयत्न गर्न छाडेनन् । साम्राज्यवादीहरुले तयार गरेको वासी योजनालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार माध्यमले खुबै प्रचार गरे । ‘माओवादीले बाल सैन्य भर्ति गरे’, ‘महिलालाई जबर्जस्ती बलात्कार गरे’, ‘जनतालाई अपहरण’, ‘निर्दाेष जनताको हत्या’, ‘जबर्जस्ती चन्दा असुली’ जस्ता साम्राज्यवादीले संसारमा नै न्यायपूर्ण आन्दोलन विरुद्ध गर्ने गरेको ‘रेडिमेड’ प्रचार नेपालमा दोहो¥याइयो । शाही सरकारले जनतालाई पाशविक हत्या, बलात्कार, वेपत्ता र कष्टपूर्वक जेल जीवन जिउन बाध्य पारिंदा समेत सामान्य औपचारिक विरोध वाहेक उल्लेखनीय अरु केही भएन । माओवादी आन्दोलनका नेतृत्व खासगरी मुख्य नेतृत्वलाई पाशविक, क्रूर रुपमा चित्रण गर्न खोजियो । कुनै पनि संघर्ष अझ खासगरी सशस्त्र संघर्षमा नेतृत्व अझ मुख्य नेतृत्वको असाध्यै ठूलो भूमिका हुने कुरालाई साम्राज्यवादी र सामन्तवादी शासकले राम्ररी बुझेकाले नेतृत्वलाई जनताबाट कटाउने खुबै कोशिश गरे । माओवादी विद्रोहका कारणहरु खोज्न र तिनका मागहरुलाई चर्चा र छलफल गर्नसम्म पनि रुचाइएन । माओवादी विद्रोहका कारण भएका सकारात्मक सामाजिक परिवर्तनबारे सञ्चार माध्यमहरुमा पनि खासै महत्व दिइएन ।

महान् जनयुद्धको सुरुवात भएको दुई वर्षमै देशमा एउटा सशक्त शक्तिको रुपमा माओवादी उपस्थित भयो । शाही सरकारले जनयुद्ध सुरु भएको दुई वर्षपछि आयोजना गरेको स्थानीय चुनाव विद्रोहीले थुप्रै ठाउँमा ध्वस्त गराउन सफल भएको थियो । त्यसपछि शाही सत्ताले संसदीय तथा स्थानीय चुनावहरु गराउने आँट नै गर्न सकेन, राजाको ‘कू’ पछि पनि सैन्य हिसाबले दह्रो उपस्थिति मानिएका नगरहरुको निर्वाचन पनि सफल हुन सकेन । माओवादी भूमिगत भएकाले यसको विचार र यसले गरेका कार्वाहीहरुको बारेमा बुझ्ने एउटै मात्र भरपर्दाे पत्रिका जनादेश नै थियो । यसैले जनयुद्ध पक्षधरले मात्र होइन विरोधीले समेत जनादेश किन्न थाले । सूचना, आवश्यक जानकारीको अभाव र सरकारी आतंकका कारण कतिपय समयमा झोलामा कार्यालय बनाएर हिंड्नुपर्ने अवस्थामा समेत जनादेश नेपालकै सर्वाधिक विक्री हुने पत्रिका बन्यो । यो यथार्थलाई नेपाल पत्रकार महासंघका काठमाडौं जिल्लाका पूर्व सभापति एवम् नेवारी भाषामा प्रकाशित विश्वभूमि दैनिकका सम्पादक अशोक श्रेष्ठले एउटा प्रतिवेदनमा समेत उल्लेख गरेका छन् – “जनादेश साप्ताहिक नेपालमा सर्वाधिक विक्री हुने पत्रिका बन्यो । ७५,००० प्रतिसम्म छापियो । नेपाली साप्ताहिकको विक्रीको रेकर्ड कायम गर्ने पत्रिका जनादेश बन्यो ।” कमसल प्रविधि, अभाव र जोखिम मोलेर जनादेश अन्य पत्रिकाभन्दा बढी बिक्री हुनु भनेको जनयुद्धको वैचारिक समर्थनकै कारण हो ।

आफू जताततै असफल भएपछि पुरातन सत्ता र संस्कृति बचाउन संसदीय जामा लगाएको निरंकुश शाही सत्ता पूरै लागिप¥यो । आफ्नो हित प्रतिकूल भएपछि बहुदलीय प्रतिस्पर्धा र वाक तथा प्रकाशन स्वतन्त्रताको कुरा केवल हात्तीको देखाउने दाँत बन्यो । जनयुद्धको विस्तारसँगै शाही सरकारले दमनलाई तीव्रता दिनु यसैको कारण हो । उसकै संविधान अन्तर्गत दर्ता भएको र उसले बाध्यतापूर्वक भए पनि ‘क’ श्रेणीको दर्जा दिएको जनादेश साप्ताहिकलाई समेत उसले दमन गर्न छाडेन । जनयोद्धाले २०५५ साल पौष १९ गते, वीरता दिवसका दिन, ललितपुरको भट्टेडाँडामा गरिएको साहसिक आक्रमणको सचित्र समाचार बनाएको निहुँमा पौष २१ गते जनादेश कार्यालयमाथि कायरतापूर्ण आक्रमण भयो । जनादेशका केही पत्रकारलाई वन्दी बनाइयो र कम्प्युटर लगायत सम्पूर्ण भौतिक सामग्री लुटियो । पत्रिकालाई सदाका लागि बन्द गर्न प्रपञ्च रचिए पनि नेपाल पत्रकार महासंघ लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ÷संस्थाको दवाव र विरोधको कारण जनादेश नियमित भइरह्यो । पत्रिकाका सम्पादक लगायत त्यसका पत्रकारहरुले भूमिगत हुन बाध्य हुनुप¥यो । भूमिगत रुपमा सम्पादनको नेतृत्व गर्दै आउनुभएका सम्पादक कृष्ण सेन ‘इच्छुक’लाई भट्टेडाँडाकाण्डको चार महिनापछि गिरफ्तार गरेर २२ महिना जेल राख्यो ।

यद्यपि सकारात्मक होस् या नकारात्मक रुपमै किन नहोस् जनयुद्ध मिडियामा प्रमुखताका साथ छाइरह्यो । यो दश वर्षमा यहाँ भएका हरेक राजनीतिक गतिविधिहरु यसैको केन्द्रमा घुमे । माओवादीको पक्षमा हुने प्रचारलाई जनविरोधी शाही सत्ताले सुरुदेखि नै निस्फल पार्ने योजनाबद्ध षड्यन्त्र नगरेको होइन तर सकेन । उसैले बनाएको संविधान र कानुनलाई कुल्चेर २०५८ सालमा संकटकाल लगाएर क्रान्तिकारी पत्रकारहरुमाथि हमला ग¥यो । माओवादीले गरेका कारवाहीबारे शाही सेनाको स्वीकृतिविना स्वतन्त्र ढंगले लेख्ने सबै पत्रिकामाथि प्रतिबन्ध लगायो । त्यस बीचमा जनादेश लगायतका पत्रिका निकाल्न दिने कुरै भएन । कृष्ण सेनको हिरासतमा चरम यातना दिएर हत्या गरियो । त्यसबेला दुई दर्जनभन्दा बढी जनपक्षीय पत्रकारहरु शहादत हुनुभयो ।

जहाँ समस्या त्यहाँ उपाय भनेझैं शाही सरकारले क्रान्तिकारी पत्रिकामाथि प्रतिबन्ध लगाए पनि भारतबाट जनआवाज साप्ताहिक निस्कियो । हजारौंको संख्यामा भूमिगत रुपमा देशभित्र यो पत्रिका भित्र्याइयो र त्यसलाई इन्टरनेटमा राखेर विश्वव्यापी प्रचार गरियो । ग्वेवल्सका असली चेलाहरुबाट भइरहेको एकोहोरो नकारात्मक प्रचारलाई चिर्न त्यसको मात्र भूमिकाले पुग्न सक्दैन थियो । माओवादीले ग्रामीण क्षेत्रमा आफ्ना थुप्रै वैकल्पिक सञ्चार माध्यममार्फत्, घरदैलो अभियान चलाएर र जनसभा गरेर त्यसलाई धेरै हदसम्म चिरेका थिए । शहरी इलाकामा माओवादीबारे काफी भ्रम सिर्जना गरियो । तीन महिनामा माओवादीलाई सिध्याउने घोषणाका साथ उतारिएको शाही सेना थुप्रै मोर्चामा हा¥यो । अमेरिकी प्रविधि, तालिम पाएका शाही सेना प्रहरी जति पनि लड्न सकेनन् । माओवादीले शाही सेनालाई जताततै बाँदर लखेटाइ लखेटे । माओवादीको जीत हुँदै गएपछि शाही सत्ताले माओवादीबारे समाचार लेख्न प्रतिबन्ध लगाएको भए पनि पत्रकारहरुबाट त्यसलाई मिच्न सुरु भयो । जनयुद्धका बारेमा समाचार नदिंदा पत्रिकाको विक्रीमा नै प्रभाव पर्न थाल्यो । पछि दोश्रो वार्ता प्रारम्भ भयो । माओवादी नेताहरुले लाखौं जनताका बीचमा गएर आफ्ना विरुद्ध फैलाएका भ्रमलाई चिर्नु मात्र भएन, आफूहरु शान्ति र अग्रगामी राजनीतिको पक्षधर हो भन्ने कुरालाई धेरै हदसम्म स्पष्ट पार्नुभयो । त्यसक्रममा जनादेश साप्ताहिकले आफ्नो प्रकाशन पुन प्रारम्भ ग¥यो ।

माओवादी र शाही सरकारबीच वार्ता भङ्ग भएपछि पुरानो अनुभवबाट सिकेर जनादेशलाई नयाँ अवधारणाका साथ प्रकाशित गरिन थालियो । जनादेश पूर्व, पश्चिम, उपत्यका र प्रवासमा एकै पटक चार ठाउँमा हजारौंको संख्यामा प्रकाशित गरियो । संकटकालमा हत्या गरिनुभएका कृष्ण सेनको नाममा भारतबाट अनलाइन सेवा सुरु गरियो । यो उच्च प्रविधिमार्फत् पनि नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादी विचार र गतिविधि प्रचार/प्रसार गर्ने महत्वपूर्ण काम भयो । त्यतिबेला नेपालमा अनलाइन पत्रकारिता वामे सर्दै थियो ।

वार्ता भङ्गसँगै देशका विभिन्न भागबाट जनगणतन्त्र रेडियोको प्रारम्भ भयो । जनगणतन्त्र रेडियोको प्रसारणले जनसञ्चारमा ठूलै छलाङ हान्योे । यसले जनताको ठूलो हिस्सालाई सही सूचना सम्प्रेषण ग¥यो । शाही सरकारले २०५८ सालताकाको जस्तो प्रचारमा नियन्त्रण गर्न खोजे पनि त्यो कामयावी हुन सकेन । पहिलो संकटकालको छ महिनामा शाही सरकारले पारेको भ्रमलाई चिर्न जुन अप्ठ्यारो थियो, पछिल्लो समयमा त्यस्तो भएन । यद्यपि जनगणतन्त्र रेडियोको उपत्यका प्रसारणसहित अन्य क्षेत्रमा प्रसारणलाई अवरुद्ध गर्ने कोशिश भने गरियो ।

आफ्नो वर्गीय स्वार्थमा जब धक्का लाग्छ, नियमित काम कार्वाहीमा समेत अवरोध पैदा हुन्छ, तब जनविरोधी शासकलाई त्यो असहनीय हुन्छ । जति ऊ हार्छ, त्यति हतास भएर आक्रामक रुख अपनाउँछ । हिजो जनयुद्ध विरुद्ध प्रयोग गरिएका पत्रिकाको सामान्य विरोध समेत उसलाई पाच्य भएन । शाही सरकारले २०६१ साल माघ १९ गते राजधानी लगायत देशभरि नै टेलिफोन, इन्टरनेट, टीभी केवुल समेत काट्ने, पत्रिका बन्द गराउने, चलेका पत्रिकामा समेत अघोषित सम्पादकको रुपमा शाही सेनालाई नियुक्ति गर्ने, सूचना सञ्चारमा आमजनतामा प्रभावकारी भूमिका खेल्दै आएको एफ.एम. रेडियो बन्द गराउने जस्ता बहुलठ्ठी कार्य ग¥यो । सिङ्गो देशलाई सूचनाबाट कटाएर बन्दी गृहमा बदल्ने कुकार्य गरियो ।

वैकल्पिक सत्ता चलाइरहेका माओवादीको लागि शाही सरकारको पछिलो घोषणाले खासै प्रभाव पारेन । र, क्रान्तिकारी पत्रकारितालाई पनि छायाँले छोएन । शाही सरकारको यो कदमपछि जनगणतन्त्र रेडियो सुन्ने श्रोता, जनादेश र कृष्णसेन अनलाइनको पाठक ह्वात्तै बढ्यो । जनादेश साप्ताहिक अनलाइन संस्करणका साथै आधा दर्जन भन्दा बढी ठाउँमा नियमित प्रकाशन भयो । जनतालाई अन्धकारमा राखेर नरसंहार मच्चाउने उसको योजना पूर्णत असफल भयो । माओवादी र सात संसदवादी दलबीच मंसिर ७ गते १२ बुँदे सहमति कायम भएपछि निरंकुश शाही सत्ताले माओवादीबारे लेखनको प्रतिबन्ध पूरै अवज्ञा भयो । माओवादीका अध्यक्ष कमरेड प्रचण्डले जारी गर्नुभएको वक्तव्यलाई देशबाट निस्केका सबैजसो ठूल्ठूला दैनिकले मुख्य समाचार बनाए ।

माघ १९ गतेको ‘कू’को समर्थनमा लेख्दै आएका पत्रिकाले समेत अध्यक्ष कमरेड प्रचण्डको वक्तव्यलाई महत्वका साथ छापे । जनयुद्ध दश वर्ष पूरा भएको सन्दर्भ पारेर कान्तिपुर, काठमाडौं पोस्ट, हिन्दू, बीबीसी वल्र्ड सर्भिसमा आएका कमरेड प्रचण्डका अन्तर्वार्ताले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा नै ठूलो तरङ्ग पैदा ग¥यो । अध्यक्ष कमरेड प्रचण्डले अन्तर्वार्तामा अभिव्यक्त गरेका विचारले दीर्घकालीन प्रभाव पार्ने कुरा आफ्नो ठाउँमा छदैंछ, तत्कालीन रुपमा समेत माओवादी प्रचारमा ‘अफेन्सिभ’ र शाही सत्ता पूरै ‘डिफेन्सिभ’ भयो । जनयुद्ध सुरु हुनुपूर्व माओवादी नेताहरुका वक्तव्य र अन्तर्वार्ताहरु नेपाली प्रेसमा समेत विरलै आउने अवस्था रहेकोमा पछिल्लो समयमा अन्तर्राष्ट्रिय ठूला संचार माध्यममा समेत छाउनु जनयुद्धकै सफलता हो ।

नगर क्षेत्रमै पाँच प्रतिशत भन्दा बढी जनताको समर्थन नपाएको निरंकुश शाही सत्तालाई बचाउन र आमूल परिवर्तनकारी शक्तिलाई सिध्याउने खेल अमेरिकी शासकबाट तीब्रताका साथ भयो । जनताबाट पूर्णतः तिरस्कृत राजतन्त्रलाई कायम राखेर नेपाली जनतालाई शासन लाद्ने काम अमेरिकी शासकले गर्नु विडम्बना हो । दुनियाँमा चलेका न्यायपूर्ण आन्दोलनलाई खत्तम पार्न अमेरिकी साम्राज्यवादीले जसरी प्रचार र हतियार तथा तालिम दियो, त्यो यो देशका जनतामाथि गरिएको अपमान र हेपाहा नीति थियो, जनतालाई स्वतन्त्र रुपमा आफ्नो भाग्यको फैसला गर्न रोक्नु थियो । नेपाली जनता र अमेरिकी हित स्वार्थको यो लडाइँ आगामी दिनमा तीखो हुँदै जानेछ । अमेरिकी शासकले एकपटक फेरि नेपाली जनताको हितका लागि चलाइएका आन्दोलनका विरुद्ध विषवमन गर्न कतिपय सञ्चारमाध्यमलाई आर्थिक लाभ दिएर चंगुलमा फँसाउने षड्यन्त्र भइरहन्छ । हेर्दै जाऔं कसले नेपाली जनताको विरुद्ध र अमेरिकी हित अनुकूलमा आफ्नो प्रचार अभियान चलाइराख्ने हुन !

नेपालमा दश वर्षे जनयुद्धले समाजमा नयाँ आदर्श र नयाँ मूल्य मान्यतालाई स्थापित गरेको छ । यसलाई क्रान्तिकारी पत्रकारहरुले सुरुदेखि नै आत्मसातीकरण गरेका छन् । कृष्ण सेन लगायत दुई दर्जनभन्दा भन्दा बढी क्रान्तिकारी पत्रकारहरुको जीवनको न्यौच्छावर जनयुद्धकै महाअभियानमा भएको छ । प्रतिगामी पक्षधर पत्रकारहरुले पत्रकारितालाई जनसेवा, राष्ट्र सेवाभन्दा कमाउने धन्दा बनाएर आदर्शको विघटन र नैतिक मूल्यको हस गराए, गराइरहेका छन, स्वतन्त्र पत्रकारिताका नाममा हुने यस किसिमको ‘मिशन’ पत्रकारिताको विरोध गर्दै नयाँ आदर्श र नैतिक मूल्यको लागि पत्रकारिता गर्न यो दश वर्षे जनयुद्धले सिकाएको महत्वपूर्ण पाठ हो ।

समाजमा शक्तिहरुको संघर्षबाट नै इतिहास रचिन्छ । यसैले माक्र्सले जोड दिएर भन्नुभएको छ–‘अहिलेसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ।’ अहिले चलिरहेको जनआन्दोलन होस् या जनयुद्ध वर्गसंघर्षको नै हिस्सा हो । समाजमा चलेका न्यायोचित संघर्षको समर्थन गर्नु सबै पत्रकारको दायित्व हो, कुनै पनि पत्रकार समाजभन्दा अलग हुन सक्तैन, सामाजिक संघर्षबाट तटस्थ रहन सक्तैन । जनयुद्धको अन्तिम समयमा अधिकांश पत्रकारहरुले निरंकुश शाही सत्ताका विरुद्ध खेलेको भूमिका प्रशंशनीय छ ।

जनविश्वास जित्ने लक्ष्यका साथ अगाडि बढ्ने हो भने निर्दिष्ट गन्तव्यसम्म पुग्न सकिनेछ । यसरी हिंड्दा जोखिम र संकटको सामना भने गर्नैपर्छ । आफैंभित्रका भ्रम र जीवनपद्धतिलाई परिमार्जित गर्ने हो भने हजारौं वर्षदेखि जनतालाई डस्दै आएको सामन्तवादरुपीे गोमन साँपको अन्त्य टाढा छैन भन्ने भविष्यवाणी प्रमाणित भएको छ । एक्काइशौं शताब्दीमा समेत वंशको आधारमा शासन गर्ने घिनलाग्दो परिपाटी कायम गर्नु भनेको पछिल्लो पुस्ताका लागि हामी आफै समेत कलंकित बन्नु हुन्थ्यो । आफैंले आयोजना गरेको नगर निर्वाचनमा शाही सत्तालाई जनताले गरेको तिरस्कार र राजनीतिक दलका कार्यक्रममा जनताको अपार सहभागिताले देशमा वैकल्पिक सत्ताको स्थापनाको पक्षमा अभिमत जाहेर ग¥यो । माओवादी–संसदवादीबीच समानान्तर सरकारको घोषणा जायज माग थियो, यसलाई कार्यरुप दिनका लागि परिवर्तनका पक्षधर पत्रकारहरुले अभियान नै चलाए ।

कुनै पनि जनविरोधी शासकलाई हतियारबद्ध या शान्तिपूर्ण संघर्षको बलमा मात्र हराउन सकिदैंन । यसका लागि शब्द प्रहारको पनि जरुरी छ । चिली लगायत विभिन्न क्षेत्रमा साम्राज्यवादको दुस्प्रचारलाई चिर्न नसक्नुको परिणाम माओवादीलाई राम्रो ज्ञान छ । जनयुद्धसँगै आफ्नै वैकल्पिक जनसंचारको संजाल बनाउनुको मुख्य कारण यही हो । माओवादी र जनयुद्धका विरुद्ध साम्राज्यवादी र देशभित्रकै जनविरोधी शासकले जति नै अभियान चलाए पनि यसलाई खासै प्रभाव परेको छैन । माओवादीले सुरुदेखि नै मुख्यतः तीन ढंगले क्रान्तिको सन्देश जनतामा पु¥याइरहे– एक, आफ्ना र जनवर्गीय संगठनको पत्रिका चलाउने, दोश्रो, आफ्ना समर्थक प्रकाशन र जनरेडियोमार्फत् आमजनतामा विचार, सूचना र समाचार सम्प्रेषण गर्ने र तेश्रो, आफ्नाइतर स्वदेशी विदेशी पत्रिकाबाट पनि विचार सम्प्रेषण गर्ने । संकटकालको केही महिनावाहेक माओवादी संचारमा हावी भइरहे । राजा–महाराजा र शासकहरुको विरोध र समर्थनमा बढी घुम्ने संचार माध्यम यो दश वर्ष चाहेर या नचाहेर जनता, जनविद्रोहलाई केन्द्रमा राखेर घुमिरहे । जनयुद्धले सञ्चार माध्यममा पारेको यो प्रभाव चानचुने थिएन ।

साभारः जनादेश साप्ताहिक, वर्ष–१५, अंक–१३, २०६२ फागुन २ गते मंगलवार (सामान्य सम्पादनसहित पुनः प्रकाशन गरिएको छ । गौरवपूर्ण इतिहास बोकेको जनादेश साप्ताहिक माओवादीका तत्कालीन शीर्ष नेता डा. बाबुराम भट्टराईले निजी बनाए, यसको प्रकाशन हाल बन्द छ ।)

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares