मासिए अर्ना

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो। संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ। बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्याल भन्छन्, ‘अर्ना सक्षम नभएसम्म रोग, समस्या, ठाउँको निरन्तर अनुगमन हुनुपर्छ। प्रजाति ल्याउने, त्यसको लागी बजेट व्यवस्थापनको नीति नहुँदा पनि समस्या भएको हो।’निकुञ्जभित्रको पुरानो पदमपुरमा इन्क्लोजर अर्थात् खुला खोर बनाइएर राखिएको थियो। उक्त संरचना ४५ हेक्टर क्षेत्रफलमा बनाइएको थियो। बाघ, भालु, गैंडा, हात्तीबाट जोगाउन फराकिलो क्षेत्र समेटेर तारजालीले घेरिएको थियो। तर, बाँकी रहेका अर्ना पनि इन्क्लोजरको नियमित रेखदेख नहुँदा बाघ पसेर गत साता मारिदियो। पानी छिर्ने ठाउँबाट पसेर बाघले तीनवटै खाएको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन्।अघिल्लो साउनदेखि मंसिरसम्म १० अर्ना मरेका थिए। केही २०७४ सालको बाढीमा परे। केही बाघको आक्रमण र केही प्राकृतिक कारणले मरे। निकुञ्जले स्याहारसुसार गर्न नसकेको संरक्षणकर्मी बताउँछन्इन्क्लोजर वरिपरि ‘सोलार फेन्सिङ’ गरिएको छ। इन्क्लोजरभित्र घाँस व्यवस्थापन, पोखरी निर्माण गरिएको थियो। त्यसमा अर्ना आहाल खेल्थे। पछिल्लो पटक नियमित अनुगमन र निगरानी हुन नसक्दा प्रजाति नै मासिएको हो। सुरुमा सहायक वार्डेन, भेटेरेनरी चिकित्सक हरेक दिन इन्क्लोजर पुगेर अनुगमन गर्थे। तारबारको अवस्था, पानीको स्रोत र सोलार फेन्स अवस्था हेर्थे। पानी सुकेका बेला इनारबाट पनि झिकेर तालमा राखिन्थ्यो। पछिल्लो समय अनुगमन हुनै छाडेको थियो। कोही पनि जाँदैनथे। इन्क्लोजरमा झाडी पलाएको छ। संरक्षणप्रति लगाव नभएको आरोप निकुञ्जमाथि छ। ‘ठाउँ उपयुक्त नभएको भए बच्चा कसरी जन्मिन्थ्यो ? संरक्षणमा ध्यान नदिएकै हो’, एक संरक्षणकर्मी भन्छन्, ‘पहिला हरेक दिन कर्मचारी खटिन्थे। अहिले कोही जाँदैनन्। संरक्षणमा लगाव नहुँदा र हेलचेक्र्याइँले अर्ना मरेको हो।’बाघले ६ वटा अर्ना मार्‍यो। २०७४ को बाढीले बगाएर तीन, अजिंगरको आक्रमणबाट १ , माउको मृत्यु भएपछि एउटा बच्चा र एउटा जन्मनेबित्तिकै मरेका थिए। तीनवटा वातावरण अनुकुल हुन नसकेर मरे। आठवटाको मृत्युको कारण खुल्न सकेन। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी प्रयास गर्दा पनि बचाउन नसकिएको बताउँछन्। ‘अनुगमन नभएको भन्ने होइन। अन्यत्रबाट ल्याएको हुनाले प्रयास गर्दा पनि जोगाउन गाह्रो भएको हो’, तिवारी भन्छन्। यो निकुञ्ज २०३० सालमा स्थापना गरिएको हो। त्यसअघि नै यो ठाउँबाट अर्ना लोप भइसकेको थियो। जानकारका अनुसार चितवनको घना जंगलमा सन् १९६१ सम्म अर्ना पाइन्थ्यो। तर, वासस्थान विनाश भएकै कारण अर्ना लोप भएको हो। अर्नाको पुस्ता थप हुँुदा खुसी भएका संरक्षणकर्मी अहिले निराश बनेका छन्।यो समाचार अन्नपूर्ण पोस्टमा छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१८ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares