भैरहवामा खुला सीमाः परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्थाबारे जनसम्वाद

रुपन्देही । नेपाल–भारत खुला सीमा संवाद समूह, रुपन्देहीको आयोजनामा भैरहवाको होटल पौवामा “खुला सीमाः परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था” विषयक जनसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख वक्ता संस्थाका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारतको खुला सीमा केवल भौगोलिक विशेषता नभई सांस्कृतिक, पारिवारिक र ऐतिहासिक सम्बन्धको जीवित प्रतीक भएको बताए ।
भाषा, धर्म, रीतिरिवाज तथा पारिवारिक नातागोता यति घनिष्ठ भएकाले यी सम्बन्धलाई कृत्रिम रूपमा छुट्याउन नसकिने स्पष्ट पारेका हुन् । खुला सीमाले सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको र सीमा क्षेत्रमा व्यापार, रोजगारी, स्वास्थ्य उपचार तथा पारिवारिक आवतजावतलाई समेत सहज बनाउने बताए ।
साथै उनले सिमा क्षेत्रमा दुवै देशका सरकारहरूले विशेष व्यवस्था गरी त्यहाँका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यवसाय र पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे ।
संविधान सभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश गुलजारीले नेपाल–भारत सम्बन्धलाई राम–सीताको सम्बन्धको संज्ञा दिँदै कसैले चाहेर पनि यो सम्बन्ध तोड्न नसक्ने बताए । उनले नेपाल सरकारले कतिपय अवस्थामा सीमा प्रशासनलाई प्रयोग गरी भारतसँगको सम्बन्ध बिगार्ने प्रयास गरे पनि यस्ता प्रयास सफल नहुने जिकिर गरे ।
यसैगरी, कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले ऐतिहासिक दृष्टिले अंग्रेजहरूले नेपाल–भारतको सीमालाई कृत्रिम रूपमा बाँडेको स्मरण गराउँदै युरोपले युरोपियन युनियनमार्फत २६ देशको सिमा खुला राखेर प्रगति गरेको उदाहरण प्रस्तुत गरेका थिए । उनले रामायणकालीन समयमा जातीय व्यवस्था नरहेको र पश्चिमाहरूले हाम्रा ग्रन्थ चेरेर त्यसमा हस्तक्षेप गरी जातीय व्यवस्था लादेको षड्यन्त्र रहेको समेत बताए ।
लुम्बिनी प्रदेशका प्रदेश सांसद कन्हैया बानियाँले केही युवाहरूले तारबारको कुरा गरे पनि बहुसंख्यक जनताको भावना खुला सीमाप्रति नै रहेको बताए । साथै उनले नेपाल सरकार र भारत दुवैले सीमा क्षेत्रको समग्र विकास र सीमा वासिन्दालाई लक्षित विशेष सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
साथै सीमामा बसोबास गर्ने समुदायलाई दुवै देशका सरकारले विशेष सुरक्षा, परिचयपत्र प्रणाली, शिक्षा र रोजगारीका अवसर, आपतकालीन राहत जस्ता विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे ।
नेपाल भारत खुला सीमा संवाद समूह, बाँकेका अध्यक्ष प्रशान्त गुप्ताको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । अध्यक्षीय मन्तव्यमा गुप्ताले नेपाल–भारतको ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई मजबुत राख्न खुला सीमाको भूमिकालाई अझै संस्थागत गर्नुपर्ने बताए ।
यस्तै, जनमत पार्टीका नेता भुपेन्द्र यादवले मधेशी समुदायले अपेक्षाकृत भारतीय सहयोग नपाएको गुनासो राखे भने नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले भारतले नेपालका लागि सधैं असल मित्रको भूमिका निर्वाह गर्दै सहयोग जारी राखेको उल्लेख गरे ।
नेपाल भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवालले भारतले नेपालका लागि आफ्नै बजेटबाट समेत सहयोग रकम छुट्याएको प्रसंग स्मरण गराए ।
गोपाल सेवा समितिका अध्यक्ष भरथरी यादवले खुला सीमाबाट सीमा वासिन्दालाई हुने फाइदाका रूपमा उनीहरूले सहज रोजगारी, व्यावसायिक गतिविधि, सस्तो बजार पहुँच, आपतकालीन अवस्थामा स्वास्थ्य उपचार र पारिवारिक भेटघाटलाई सहज बनाएको बताए ।
कार्यक्रममा आनन्द प्रसाद गुप्ता, मोहित कुमार द्विवेदी, दिलिप हरिजन, मनोज कुमार अग्रहरी, दुर्गेश यादव, दिपेन्द्र मौर्य, बिपि शर्मा, पंकज पाठक, अर्जुन कुर्मी, महेश गुप्ता, अजय सिंह क्षेत्री, नवीन खत्री, बिकाश सहनी, दिल बहादुर चौधरी, उर्मिला यादवलगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
163 Shares