हेटौँडाका जनप्रतिनिधि प्रशासनविरुद्ध आन्दोलित

मकवानपुरगढी, साउन ४ गते । आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

करिब एक महिनाअघि जनप्रतिनिधिमाथि भएको आक्रमणको अभियुक्त हालसम्म पनि पक्राउ नपरेपछि हेटौँडा उपमहानगर भित्रका १ देखि १९ वटै वडाका वडाअध्यक्षहरु आक्रोशित बनेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते दिउँसो कार्यकक्षभित्रै अपरिचित समूहले आक्रमण गरेको थियो । आइतबार घटना घटेको १ महिना बितिसक्दापनि प्रहरी प्रशासनले आक्रमणकारी लाई पक्राउ गर्न नसकेकोप्रति घोर आपत्ति जनाउँदै वडा अध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् ।

प्रशासन र प्रहरीको काम कारबाहिप्रति जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय परिसरमै सांकेतिक कार्यालय स्थापना गरेर प्रदर्शन सुरु गरेका छन् । घटनाले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहनुभएका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वराज खड्काको भूमिकामथि चौतर्फी आलोचना भइरहेको छ ।

आन्दोलनका क्रममा हेटौंडा– १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले मकवानपुरका शान्ति सुरक्षा निकायको भूमिका फितलो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधिनै असुरक्षित छौं भने सर्वसाधारणको सुरक्षाबारे के कुरा गर्नु? घटना विवरण छर्लङ्ग हुँदापनि दोषी पक्राउ नपर्नु लाचारीपनको पराकाष्ठा हो । दोषीलाई जानाजान उम्कनु दिनु, घटना छानबिनमा ढिलासुस्ती गर्नुनै आपत्तिजनक विषय बनेको छ ।”

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाको नेतृत्वमा सुरु भएको आन्दोलनमा हेटौंडाका १९ वटा वडाका अध्यक्षहरु सहभागी रहेका छन् । पहिलो चरणमा दुई दिनसम्म प्रशासन कार्यालय अगाडी सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने उपमहानगरका प्रवक्ता सवीन न्यौपानेले बताउनुभयो ।

जनप्रतिनिधिहरुले प्रहरी र प्रशासनबाट न्याय नपाइने ठहर गर्दै आफूहरु वार्तामा संलग्न नहुने निर्णय समेत गरेका छन् । दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने अन्यथा आन्दोलनलाई चरणबद्ध रुपमा थप सशक्त बनाउदै जाने चेतावनी वडाअध्यक्षहरुले दिएका छन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
301 Shares