नातावाद र घुस प्रकरण : डिआइजी कुँवरमाथि बेलायतमा रहेका पूर्व सहकर्मीको प्रहार

काठमाडौं ।
“ज्वाइँ साहेब कता हो ? ससुरा बचाउन गएनौ ! डिआइजीको फुली लगाएर के काम ? हेडक्वार्टर बस्यो, अरुको कुरा काट्यो, साला घुसखोर !”
— यो तिक्त स्टाटस बेलायतमा रहेका सशस्त्र प्रहरीका पूर्व इन्स्पेक्टर कुलदिप खातीको फेसबुकमा झुण्डिएको छ । उनी सशस्त्र प्रहरी बलको सि.सं. २ नम्बरबाट सेवामा प्रवेश गरेका थिए । तर, संगठनभित्र अन्याय र नातावादले वाक्क दिक्क भएर उनले जागिर छोडी बेलायतको बाटो समाएका थिए ।

खातीको उक्त स्टाटस डिआइजी दिपेन्द्र कुँवर तर्फ लक्षित भएको बुझिन्छ । कुँवर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद आरजु राणाका भतिजा भानु देउवाका ज्वाइँ हुन् । यही पारिवारिक पहुँचकै कारण उनले संगठनभित्र अस्वाभाविक रूपमा चढाइ पाएको आरोप सहकर्मीहरूले लगाउँदै आएका छन् ।

नाताले स्वाट्ट, काबिलहरू पाखा

सशस्त्र प्रहरीमा बढुवाको दौडमा ११ नम्बरमा रहेका कुँवरलाई रातारात एसएसपीमा तानिएको थियो । अझ, सँगैका ब्याचका अधिकारीहरू डिएसपी वा एसपीकै स्तरमा अड्किँदा उनी डिआइजीको फुली लगाउन सफल भए ।

यो बढुवाको पृष्ठभूमिमा राजनीतिक सरोकार र “नाताकै बल” प्रमुख कारण रहेको स्रोतहरू बताउँछन् । संगठनभित्र “काखी च्यापेर पाखा पारिएका” धेरै अधिकारी अहिले विदेश पलायन भएका छन् । तीमध्ये मणिजंग हमाल, वीरसिंह साहु र दुर्गेश थापा जस्ता नाम चर्चामा छन् ।

कुनै समयको हल्चोक, अब करोडौँको सम्पत्ति

हल्चोकस्थित सशस्त्र प्रहरीको प्रवन्ध शाखामा लामो समय बसेका कुँवरले त्यही अवधिमा करोडौंको सम्पत्ति जोडेको चर्चा आन्तरिक वृत्तमै हुन्छ । उनी केही प्रभावशाली नेताहरूलाई गाडीसम्म उपहार दिएको हल्ला संगठनभित्र व्याप्त छ ।

नेपाल प्रहरीमा पनि समान कथा : एसएसपी विश्व अधिकारी विवादमा

राजनीतिक पहुँचकै कारण नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी पनि विवादमा तानिएका छन् ।
गत वर्ष चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूहले बानेश्वर ब्यारिकेड तोड्दा कमाण्डमा उनै अधिकारी थिए । त्यसै स्थानमा भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का बेला पनि ब्यारिकेड तोडियो— कमाण्डर फेरि पनि अधिकारी नै थिए ।

प्रहरी स्रोतका अनुसार चैतको आन्दोलनमा अधिकारी कमाण्ड पोस्टमै उपस्थित थिएनन्, तर आफूलाई देखाउन “फोटो सेशन” गर्दै हिँडेको चर्चा छ । उनले उच्चस्तरीय पहुँचका भरमा गृह मन्त्रालयसम्मलाई हुकुम जस्तै गर्दै आएको बताइन्छ ।

देउवा दम्पतीको कुटाइ : गलत कमाण्डको परिणाम

भदौ २३ र २४ को आन्दोलनमा असावधानीपूर्वक गाडीभित्रबाटै ग्याँस सेल पड्काउने आदेश अधिकारीको कमाण्डमा भएको थियो । त्यसैको परिणामस्वरूप आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो र अन्ततः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणालाई आन्दोलनकारीले कुटे ।

फौज र प्रहरी दुवै क्षेत्रमा योग्यभन्दा पहुँचवालालाई प्राथमिकता दिने प्रवृत्ति संस्थागत असन्तुष्टि र जनअविश्वासको कारण बन्दै गएको देखिन्छ ।

१६ वर्षपछि पनि बढुवा पर्खाइमा

प्रहरी सेवामा १६ वर्षदेखि खटिएका सयौं अधिकृत अझै डिएसपी बन्न सकेका छैनन् । तर, नातावाद र आर्थिक चलखेलका कारण कतिपय एकल बढुवा पाएका छन् । आन्तरिक स्रोतका अनुसार एआइजी बन्न रकम बुझाउनेसम्मको चलन संस्थाभित्रै चर्चा विषय बनेको छ ।

तसर्थ :

सुरक्षा निकायमा नातावाद, पहुँच र आर्थिक चलखेलले योग्यतालाई विस्थापन गरेको आरोप फेरि एकपटक सतहमा आएको छ । पूर्व सहकर्मीको तीखो फेसबुक टिप्पणी मात्र होइन, बढुवामा गरिएको अन्याय र गलत कमाण्ड निर्णयहरूले नै अहिलेको असन्तुष्टि उजागर गरिरहेका छन् —
अन्ततः प्रश्न उस्तै रहन्छ : “के योग्यता भन्दा नाताको फुली अझै बलियो छ नेपालमा ?”

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
232 Shares