

बाँकेमा कार्यरत सई विष्णु शाही र सञ्जित केसी प्रहरी प्रधान कार्यालयको छानबिनमा
नेपालगन्ज । बाँके जिल्लामा लामो समयदेखि कार्यरत रहँदै आएका वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) विष्णु शाही र सई सञ्जित केसीलाई उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन प्रक्रियामा तानेको छ। प्रहरी स्रोतका अनुसार दुवै अधिकारीविरुद्ध परेका विभिन्न उजुरीमाथि प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ।
प्रहरी प्रधान कार्यालयले निष्पक्ष र पारदर्शी छानबिन सुनिश्चित गर्न सम्बन्धित दुवै प्रहरी कर्मचारीलाई आवश्यक कागजात तथा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी तथा विभागीय प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ। छानबिन सम्पन्न भएपछि मात्रै अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाइएको छ।
बसपार्क प्रहरी प्रमुख रहँदा शाहीविरुद्ध गुनासोको चाङ
सई विष्णु शाही बाँके बसपार्क प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा उनीविरुद्ध धेरै उजुरी तथा गुनासो प्रहरी प्रधान कार्यालयमा दर्ता भएको स्रोतले जनाएको छ। बर्दिया जिल्लामा दरबन्दी रहे पनि उनी लामो समय बाँके जिल्लाका आकर्षक तथा अतिरिक्त आम्दानी हुने जिम्मेवारीमा कार्यरत रहन सफल भएको आरोप छ।
तत्कालीन लुम्बिनी प्रदेशका डीआईजी दानबहादुर कार्कीले शाहीलाई बर्दिया दरबन्दीमा पठाए पनि कार्की काठमाडौं सरुवा भएपछि शाही पुनः बाँके फर्किएको स्रोतको दाबी छ। त्यसपछि उनी पुनः बसपार्क प्रहरी प्रमुखको जिम्मेवारीमा पुगेका थिए। शाहीलाई सो पदमा पुर्याउन तत्कालीन प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर तथा बाँके प्रहरी वृत्तमा ‘रातो क्याप’ भनेर चिनिने एक बिचौलियाको भूमिका रहेको आरोपसमेत उठ्दै आएको छ।
१२ वर्ष एउटै जिल्लामा ‘घुमुवा’ प्रहरी : सञ्जित केसी विवादमा
सई सञ्जित केसी सहायक निरीक्षक (असई) पदमा प्रवेश गरेदेखि हालसम्म बाँके जिल्लालाई नै मुख्य कार्यक्षेत्र बनाउँदै आएका छन्। केही समय गणमा कार्यरत रहे पनि उनी अधिकांश समय जिल्ला प्रहरी कार्यालयअन्तर्गत घुमुवा प्रहरी तथा लागूऔषध नियन्त्रण ब्युरोको सिभिल ड्युटीमा खटिँदै आएका थिए। विशेषगरी २०७३ सालदेखि निरन्तर रूपमा बाँकेमै सिभिल प्रहरीका रूपमा कार्यरत रहनु आफैंमा विवादको विषय बनेको छ।
लामो समय एउटै जिल्लामा, त्यो पनि संवेदनशील घुमुवा जिम्मेवारीमा रहँदा उनी तस्कर, व्यापारी, गुण्डा समूह, क्रसर उद्योग सञ्चालक तथा विभिन्न अवैध गतिविधिमा संलग्न व्यक्तिहरूसँग निकट रहेको आरोप स्थानीय स्तरमा लाग्दै आएको छ। प्रहरी संगठनकै दृष्टिले हेर्दा यस्तो अभ्यास संस्थागत निष्पक्षता, व्यावसायिकता र जनविश्वासका लागि जोखिमपूर्ण मानिन्छ।
कार्कीको नेतृत्वमा अनुशासनतर्फ संकेत
यद्यपि, हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा विवादास्पद रूपमा चर्चामा रहेका दुवै सईलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अघि बढाइनुलाई संगठनभित्र अनुशासन, जवाफदेहिता र सुधारको स्पष्ट संकेतका रूपमा हेरिएको छ।
प्रहरी प्रधान कार्यालयले प्राप्त उजुरीका आधारमा प्रारम्भिक अध्ययन अघि बढाइसकेको र आवश्यक प्रमाण, कागजात तथा स्पष्टीकरण संकलन गर्ने जनाएको छ। छानबिनपछि आवश्यक निर्णय तथा कारबाही प्रक्रियाबारे औपचारिक रूपमा जानकारी सार्वजनिक गरिने प्रहरी स्रोतले बताएको छ।
यस घटनाले प्रहरी संगठनभित्र आन्तरिक सुशासन मजबुत बनाउने र जनविश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



