

सशस्त्र प्रहरीको गोलीबाट युवकको मृत्युपछि तनावग्रस्त लौकही बजार सामान्य, छानबिन समिति गठन
सुनसरी । सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बनेको सुनसरीको लौकही बजार साँझदेखि सामान्य अवस्थामा फर्किएको छ। मृतक परिवार, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायबीच जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलपछि मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराउने र घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमति भएसँगै अवस्था सामान्य बनेको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको लौकही बजारबाट करिब पाँच सय मिटर दक्षिणमा भारतसँग सीमा जोडिएको क्षेत्र पर्छ। यही सीमावर्ती क्षेत्रबाट बुधबार मध्यरात सिटी सफारीमा चिनी लोड गरी नेपाल फर्किंदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।
घटनापछि आक्रोशित स्थानीयले शवलाई सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। आन्दोलित भीडले सशस्त्र प्रहरीको बिटमा आगजनी तथा ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जसले स्थिति थप तनावपूर्ण बनेको थियो।
स्थानीयका अनुसार साह बुधबार राति करिब सवा १ बजे कोशी गाउँपालिका–१ स्थित भित्री सडक खण्डको पुरी टोलमा सशस्त्र प्रहरीसँग जम्काभेटमा परेका थिए। प्रारम्भिक ‘लेनदेन’ विवाद चर्किँदा सशस्त्र प्रहरीले गोली चलाएको र उक्त गोली साहको छातीमा लागेको स्थानीयको दाबी छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग हुने अवैध लेनदेनकै विवादले यो दुःखद घटना भएको आरोप स्थानीयवासीले लगाएका छन्।
मृतक साह कुनै ठूला तस्कर नभई भारतबाट दैनिक उपभोग्य सामग्री ल्याई स्थानीय व्यापारीलाई आपूर्ति गर्ने सामान्य ‘पोके व्यापारी’ भएको उनकी श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ। यद्यपि, लोड गरेर ल्याइएको चिनी साहकै हो वा होइन भन्ने विषयमा यकिन भइसकेको छैन।
सशस्त्र प्रहरीले भने घटनाको क्रममा ‘जवाफी फायरिङ’ भएको दाबी गरेको छ। तर, घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट दोहोरो फायरिङ भएको पुष्टि हुने आधार नदेखिएको भन्दै मृतक परिवार र स्थानीयले प्रहरीको दाबी अस्वीकार गरेका छन्।
स्थानीयले सशस्त्र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिनको माग गर्दै दबाब दिएपछि प्रशासनले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार दिउँसो दुवै पक्षबीच पाँच बुँदे सहमति भएपछि स्थिति नियन्त्रणमा आएको हो।
यद्यपि, सीमा क्षेत्रमा जीविकोपार्जनका लागि सानो परिमाणमा सामान ओसारपसार गर्ने नागरिकमाथि गोली प्रहार गरेर ज्यानै जाने घटना अत्यन्तै निन्दनीय भएको भन्दै सशस्त्र प्रहरीको चर्को आलोचना भइरहेको छ। विगतमा पनि लौकही क्षेत्रमा चोरी–तस्करी नियन्त्रणका क्रममा झडप र तनावका घटना दोहोरिँदै आएका छन्।
यस्ता दुःखद घटना पुनः नदोहोरिन स्थानीय नागरिक र सुरक्षा निकाय दुवैले संयमता, पारदर्शिता र वैकल्पिक सचेतनामूलक उपायमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



