कमला नदीमा बाढीको प्रहार: सिरहा–धनुषा जोड्ने डाइभर्सन बग्यो, सयौँ सवारी अलपत्र

सिरहा । निरन्तरको वर्षासँगै आएको बाढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको विकल्पका रूपमा बनाइएको उक्त डाइभर्सन आज बिहानको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव अत्यधिक बढ्दा डाइभर्सन पुनः बगाएको हो । यससँगै सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् । केही दिनअघि पनि वर्षाका कारण क्षति पुगेपछि मर्मत गरी सञ्चालनमा ल्याइएको डाइभर्सन फेरि बाढीले बगाउँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत सम्भव छैन । “हाल पश्चिमतर्फ पानीको बहाव निकै तीव्र छ । पानीको सतह घटेपछि मात्र नगरपालिकाको जेसिबी प्रयोग गरेर पुनः बाँध निर्माणको काम अघि बढाइनेछ,” उनले जानकारी दिए ।

कमला नदीमाथि पुल निर्माणमा भइरहेको चरम ढिलाइले स्थानीयवासी वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । बर्खायाममा जोखिमपूर्ण रूपमा डुङ्गा प्रयोग गर्नुपर्ने वा घण्टौँ घुमेर पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्नुपर्ने अवस्था अझै कायम छ ।

स्थानीयले दीर्घकालीन समाधानका लागि पुल निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
248 Shares