डाबर हनी न्यून गुणस्तर भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन, उपभोक्तालाई सतर्क रहन आग्रह

काठमाडौं । डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’ नमुना परीक्षणमा न्यून गुणस्तरको भेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।

डाबर नेपालद्वारा उत्पादित उक्त महु (हनी) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा न्यून गुणस्तरको पाइएपछि बिक्री–वितरण रोक्न तथा बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम निर्णय गर्दै सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको जनाएको छ ।

विभागले उपभोक्तालाई सम्बन्धित ब्याच नम्बरका ‘डाबर हनी’ प्रयोग नगर्न र सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट मिसाइएका कुनै पनि खाद्य पदार्थ उत्पादन, बिक्री तथा वितरण नगर्न कडा चेतावनी समेत दिएको छ । यस्तो पदार्थ प्रयोग गरी उत्पादन वा बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ ।

विभागले बजारमा सुरक्षित खाद्य वस्तु सुनिश्चित गर्न नियमित अनुगमन तथा परीक्षणलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ ।

Facebook Comments Box
TOP
156 Shares