प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमका लागि समय दिन अस्वीकार गरेपछि संसदमा विवाद चर्किने संकेत

काठमाडौं — प्रतिनिधिसभामा सञ्चालन हुने अनिवार्य प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन प्रधानमन्त्री बालेन शाहले तत्काल समय दिन अस्वीकार गरेपछि संसदीय वृत्तमा नयाँ विवाद उत्पन्न भएको छ। विपक्षी दलहरूले यसलाई संसदीय परम्परा र नियमावलीको अवज्ञा भन्दै विरोधलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साताभित्र प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। उक्त कार्यक्रमको समय निर्धारण गर्ने अधिकार सभामुखलाई दिइएको छ भने निर्धारित अवधिमा सम्भव नभए अर्को उपयुक्त समयमा कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान पनि नियमावलीमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

स्रोतका अनुसार आगामी साता प्रश्नोत्तर कार्यक्रमका लागि संसदमा उपस्थित हुन सभामुख डिपी अर्यालले गरेको आग्रह प्रधानमन्त्री शाहले स्वीकार गरेका छैनन्। संसदमा जारी अवरोध र विपक्षी दलहरूको दबाबका बीच सभामुख अर्याल स्वयं प्रधानमन्त्री कार्यालय पुगेर प्रश्नोत्तर कार्यक्रमको मिति तय गर्न आग्रह गरेका थिए।

सभामुखले अर्को साताभित्र कुनै दिन प्रतिनिधिसभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए। तर प्रधानमन्त्रीले “उपयुक्त समयमा संसदमा उपस्थित भएर जवाफ दिने” बताउँदै तत्काल कुनै निश्चित मिति दिन अस्वीकार गरेको बताइएको छ।

प्रधानमन्त्रीसँग भएको छलफलको विवरण सभामुख अर्यालले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूलाई समेत जानकारी गराएका थिए। उक्त समितिमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्रीको अनुपस्थितिले संसदीय अभ्यास र कार्यसूची व्यवस्थापनबारे थप प्रश्न उठाएको छ। विपक्षी दलहरूले प्रश्नोत्तर कार्यक्रमलाई बेवास्ता गरिएको आरोप लगाउँदै प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने संकेत दिएका छन्। यसले संसदको आगामी कार्यसूची र राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.4kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
15 Shares