१५ महिनापछि पुनः सुरु भयो ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण, स्थानीयमा जाग्यो नयाँ आशा

लमजुङ । करिब १५ महिनादेखि अलपत्र परेको ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण कार्य पुनः सुरु भएको छ। बेँसीसहर नगरपालिका–३ गाउँसहरमा समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित शाहवंशीय इतिहाससँग जोडिएको लमजुङ दरबारमा एक साताअघिदेखि पुनः निर्माण गतिविधि तीव्र बनाइएको हो।

विसं २०८१ माघदेखि बजेट अभाव र बोलपत्र प्रक्रियालगायत कारणले रोकिएको पुनर्निर्माण कार्य गत वैशाख २० गतेबाट फेरि अघि बढाइएको पुरातत्व विभागले जनाएको छ। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई गति दिइएको छ।

हाल दरबारमा पुराना र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्ने तथा संरचनागत सुधारका काम भइरहेको छ। पुरातत्व विभागले रु ४२ लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाएको जनाएको छ। सम्झौताअनुसार चालु बजेटअन्तर्गतको काम यही जेठ १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले लामो समयपछि पुनर्निर्माण सुरु भएकामा स्थानीयवासी उत्साहित भएको बताए। उनका अनुसार निर्माण रोकिँदा दरबारको संरक्षणप्रति चिन्ता बढेको थियो भने अहिले पुनः आशा जागेको छ।

यद्यपि दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुनर्निर्माण अझै टुंगोमा पुग्न सकेको छैन। बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले केन्द्रीय सरकारको ढिलासुस्तीका कारण परियोजना प्रभावित भएको आरोप लगाए। नगरपालिकाले यसअघि गेट, पर्खाल र ढुङ्गे सिँढी निर्माणजस्ता काममा सहयोग गरे पनि दरबारको मुख्य संरचना पुनर्निर्माणको जिम्मेवारी केन्द्र सरकारकै भएको उनको भनाइ छ।

नगरप्रमुख अर्यालका अनुसार पुनर्निर्माणमा भएको ढिलाइले पर्यटन आगमन घट्नुका साथै स्थानीयको आयआर्जनमा असर परेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दरबारको अस्तित्व जोगाउन आवश्यक बजेट सुनिश्चित गरी काम शीघ्र सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

पुरातत्व विभागका अनुसार दरबारमा अझै पर्खाल निर्माण, छाना हाल्ने, गजुर जडान, भित्री प्लास्टर, झ्याल–ढोका जडान, रङरोगन तथा भुइँ निर्माणलगायत महत्वपूर्ण काम बाँकी छन्। चालु आर्थिक वर्षको बजेटले सबै काम सम्पन्न नहुने भएकाले आगामी वर्ष थप बजेट आवश्यक पर्ने विभागको भनाइ छ।

दरबारको पुनर्निर्माण पुरानै शैली र स्वरूपमा भइरहेको छ। बुइँगलसहित तीनतले दरबार तथा प्यागोडा शैलीको कालिका मन्दिर निर्माण गरिँदैछ। निर्माणमा प्रयोग हुने इँटा, काठ र सुर्कीजस्ता सामग्री भक्तपुरबाट ल्याइएको छ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको लमजुङ दरबार शाहवंशीय राज्यको उद्गमस्थलका रूपमा परिचित छ। इतिहासअनुसार विसं १५४० मा कालु शाह लमजुङका पहिलो राजा बनेका थिए। त्यसपछि यशोब्रह्म शाहसहित शाहवंशका नौ पुस्ताले यही दरबारबाट शासन सञ्चालन गरेका थिए। लमजुङका अन्तिम राजा वीर शाह रहेको इतिहासमा उल्लेख छ।

दरबार परिसरमा रहेको प्रसिद्ध कालिका मन्दिरमा हरेक वर्ष चैते दशैं र फूलपातीका अवसरमा ठूलो मेला लाग्ने गर्छ। बेँसीसहर बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको यो ऐतिहासिक सम्पदा लमजुङको प्रमुख धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा परिचित छ।

पुनर्निर्माणले गति लिएसँगै स्थानीयवासीले अब ऐतिहासिक लमजुङ दरबार चाँडै पुरानै गौरवका साथ पुनर्जीवित हुने अपेक्षा गरेका छन्।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.4kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
318 Shares