समयमै वर्षा भएपछि बैतडीको पाटनमा आलु उत्पादन बढ्ने आशा, तर शीतभण्डार अभावले किसान चिन्तित

बैतडी । समयमै भएको वर्षाले यस वर्ष बैतडीको पाटन नगरपालिका क्षेत्रमा आलु उत्पादन बढ्ने आशा गरिएको छ। पाटन नगरपालिका–८ का किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने अपेक्षामा उत्साहित छन्।

वार्षिक आलु खेतीबाट करिब आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्टले यस वर्ष अनुकूल मौसमका कारण उत्पादन अझै बढ्ने विश्वास व्यक्त गरे।

“समयमै पानी परेकाले उत्पादन राम्रो हुने आशा छ। खेतहरू आलुले हरियाली भएका छन्,” विष्टले भने, “हामी आलुसँगै मौसमअनुसारका अन्य तरकारी पनि खेती गर्दै आएका छौँ।”

पाटन नगरपालिका–८, ९ र १० लाई आलु खेतीका लागि प्रमुख पकेट क्षेत्रका रूपमा लिइन्छ। यहाँका अधिकांश किसान आलु तथा अन्य तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार यस वर्ष अनुकूल मौसमका कारण आलु उत्पादन विगतको तुलनामा करिब २० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। बैतडीबाट वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको छ।

तर उत्पादनसँगै भण्डारणको समस्या भने किसानका लागि ठूलो चुनौती बनेको छ। शीतभण्डार नहुँदा किसानले आलु सुरक्षित राख्न नसक्ने तथा बीउ भण्डारणका लागि समेत डडेलधुरा लैजानुपर्ने बाध्यता छ।

स्थानीय किसान नरबहादुर विष्टका अनुसार पाटन क्षेत्रमा शीतभण्डार सञ्चालनमा नआउँदा हरेक वर्ष घाटा व्यहोर्नु परेको छ। “यहाँ बनेका शीतभण्डार प्रयोगविहीन छन्, यसले किसानलाई ठूलो समस्या दिएको छ,” उनले भने।

पाटन नगरपालिका–८ खोड्पे क्षेत्रमा प्रदेश सरकारको करिब ४२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको एउटा शीतभण्डार आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन। शीतभण्डारका सञ्चालक मोहनदेव भट्ट सम्पर्कविहीन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

त्यसैगरी, सोही क्षेत्रमा निर्माणाधीन अर्को शीतभण्डार भने विद्युत् जडान नहुँदा अलपत्र अवस्थामा छ। करिब ८४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त संरचनामा विद्युत् तथा केही प्राविधिक उपकरण जडान बाँकी रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ।

विद्युत् जडानका लागि बजेट माग गरिएको र आगामी वर्ष कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

शीतभण्डार सञ्चालन नहुँदा उत्पादन बढ्ने आशा भए पनि किसानलाई भण्डारण र बजार व्यवस्थापनको चुनौती यथावत् छ।

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
425 Shares