बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कोशी प्रदेशमा सबैभन्दा बढी क्षति

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमन अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमका कारण यातायात सञ्चालन रोकिएको छ।

बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित कोशी प्रदेश बनेको छ। विशेषगरी पाँचथर जिल्लामा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। जेठ ८ गते गएको बाढी–पहिरोपछि याङवरक गाउँपालिका–३ स्थित ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभान क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो।

त्यसैगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ। सो स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।

संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा कोशी राजमार्ग पहिरोका कारण अवरुद्ध भए पनि हाल एकतर्फी सञ्चालनमा ल्याइएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। वैशाख २२ गतेदेखि खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि पहिरोको जोखिमका कारण नाम्खा गाउँपालिका–२ स्थित हिल्सा–सिमकोट सडक खण्डमा वैशाख २९ गतेदेखि यातायात सञ्चालन बन्द गरिएको छ।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बेनी–जोमसोम सडक खण्ड पनि पहिरोका कारण प्रभावित बनेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा जेठ ७ गते गएको पहिरो पन्छाइएपछि हाल सो सडक एकतर्फी रूपमा सञ्चालनमा छ। पूर्ण रूपमा खुल्न नसक्दा यात्रुहरूले कठिनाइ भोगिरहेका छन्।

अविरल वर्षापछि उत्पन्न विपद्का कारण मुख्य राजमार्गहरूमा अवरोध कायम रहँदा यात्रुहरू मारमा परेका छन्। सम्बन्धित निकायहरूले निरन्तर पहिरो पन्छाउने तथा सडक खुलाउने काम भइरहेको जनाएका छन्।

Facebook Comments Box
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
१७ घण्टा अगाडि

1.2kViews 104 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति…

TOP
311 Shares