काभ्रेको कोसीपारीमा बाँदर आतंक चरम, खेतबारी सखाप—कृषकको रुवाबासी

काभ्रेपलान्चोक — जिल्लाको कोसीपारी क्षेत्रमा बाँदर र बँदेलको बढ्दो आतंकले कृषकहरूको जीवनयापन नै संकटमा परेको छ । जंगलसँग जोडिएका ग्रामीण बस्तीहरूमा वन्यजन्तुको आक्रमण तीव्र बनेपछि खेतीयोग्य जमिन बाँझिँदै गएको छ भने कतिपय गाउँहरू नै रित्तिन थालेका छन् ।

स्थानीय किसानका अनुसार मकै, कोदो, धान, भटमासदेखि तरकारी र फलफूलसम्म कुनै पनि बाली बाँदरको हुलबाट जोगाउन नसकिएको अवस्था छ । “दिनरात मेहनत गरेर लगाएको बाली केही घण्टामै सखाप हुन्छ,” एक किसानले भने, “अब खेती गरेर बाँच्ने अवस्था नै रहेन ।”

चौरीदेउराली गाउँपालिका–३को माझीफेदा , २-को नाग्रे, किल्पु लगायतका क्षेत्रमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयवासी बताउँछन् । वर्षौँदेखि उत्पादन हुँदै आएका खेतबारी अहिले क्रमशः बाँझो हुँदै गएको छ भने धेरै परिवारले गाउँ नै छाडिसकेका छन् ।

स्थानीयका अनुसार सुरुमा सामूहिक रूपमा बाँदर लखेट्ने प्रयास भए पनि अहिले त्यो कुनै प्रभावकारी उपाय बन्न सकेको छैन । पहिले ठूलो आवाज गर्दा भाग्ने बाँदर अहिले झन् आक्रामक रूपमा बाली नष्ट गर्न थालेको किसानहरूको गुनासो छ ।

“पहिले सात–आठ मुरी उत्पादन हुने खेत अहिले बाँझै छ,” अर्का स्थानीयले भने, “अब खेतीपाती गरेर बस्ने अवस्था छैन, बसाइँ सर्न बाध्य भएका छौँ ।”

बाँदरको आतंकका कारण केही किसानले अदुवा, खुर्सानी र फलफूल खेतीतर्फ मोडिए पनि ती बालीसमेत सुरक्षित नरहेको स्थानीय बताउँछन् । पाक्नै लागेको फलफूलसमेत हुलले सखाप पार्ने क्रम बढेको छ ।

स्थानीयको भनाइमा जंगल विनाश र प्राकृतिक सन्तुलन बिग्रँदा बाँदरको संख्या अस्वाभाविक रूपमा बढेको हो । “पहिले शिकारी वन्यजन्तुले सन्तुलन कायम गर्थे, अहिले त्यो नहुँदा बाँदर नै गाउँका लागि समस्या बनेको छ,” एक किसानले बताए ।

बाँदर आतंक केवल कृषि क्षतिमा सीमित नभई गाउँ नै विस्थापनतर्फ धकेलिँदै गएको स्थानीयको भनाइ छ । धेरै बस्तीमा घरहरू खाली हुन थालेका छन् भने कतिपय स्थान खण्डहर बन्दै गएका छन् ।

स्थानीय तहहरूले समस्या बढ्दै गएको स्वीकार गरे पनि दीर्घकालीन समाधान नहुँदा किसानहरू निराश बनेका छन् । कृषकहरूले संघीय सरकारले तत्काल राष्ट्रिय स्तरको नीति बनाएर वन्यजन्तु व्यवस्थापनमा ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।

“अब समस्या व्यक्तिगत वा स्थानीय मात्र रहेन,” एक स्थानीयले भने, “गाउँ नै रित्तिने अवस्था आइसकेको छ, तत्काल समाधान नआए कृषि प्रणाली नै धरापमा पर्छ ।”

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
316 Shares