पूर्वमन्त्री राजेन्द्र खरेलको निधन, आज कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो।

उनको निधनबारे पाँचखाल नगरपालिकाका प्रमुख तथा उनका छोरा महेश खरेलले जानकारी दिएका छन्। खरेलको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, संघर्षशील र लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा गुमाएको छ।

स्वर्गीय खरेल नेपाली राजनीतिका शिखर पुरुषहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराईगणेशमान सिंहसँग निकट रहेर राजनीतिक यात्रा तय गरेका नेताका रूपमा परिचित थिए। लोकतान्त्रिक आन्दोलनदेखि संसदीय राजनीतिसम्म उनले महत्वपूर्ण योगदान दिएका थिए।

विसं २०५६ सालको आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खरेलले संसदीय यात्राका क्रममा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए।

पाँचखाल नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का सभापति महेश खरेलका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ।

त्यसपछि पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणबाट श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको छ।

राजेन्द्र खरेलको निधनप्रति राजनीतिक वृत्तमा शोक छाएको छ भने उनको योगदानको स्मरण गर्दै विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
383 Shares