कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित सिंहमाथि गाँजा तस्करी सञ्जालसँग सम्बन्ध राखेको, विभिन्न जिल्लामा ‘सेटिङ’ मिलाउने काममा संलग्न रहेको तथा संगठनभित्र प्रभावको दुरुपयोग गरेको आरोप सार्वजनिक भएको छ। यद्यपि, सम्बन्धित प्रहरी नेतृत्वले भने ती आरोप अस्वीकार गर्दै उनलाई साइबर शाखामा प्राविधिक कामका लागि खटाइएको जनाएको छ।

सुरक्षा स्रोतहरूका अनुसार सिंह हाल कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहे पनि उनलाई सादा पोसाकका प्रहरी (घुमुवा) को रूपमा परिचालन गरिएको आरोप छ। स्रोतको दाबीअनुसार कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेको विश्वासपात्रका रूपमा चिनिने सिंहले कोशी प्रदेशदेखि मधेस प्रदेशसम्म आफ्नो प्रभाव विस्तार गरेका छन्।

सिंहमाथि विशेषगरी कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने गाँजा मधेस प्रदेश हुँदै भारतीय सीमासम्म पुर्‍याउने सञ्जालसँग निकट सम्बन्ध रहेको आरोप लागेको छ। सुरक्षा स्रोतहरूका अनुसार उनी महिनामा दुईदेखि तीन पटकसम्म जनकपुर र महोत्तरी पुग्ने गरेका छन्। त्यहाँ गाँजा कारोबारमा संलग्न भनिएका केही व्यक्तिहरूसँग नियमित सम्पर्क र भेटघाट हुने गरेको दाबी गरिएको छ।

यस्तै, कोशीबाट सप्तरी हुँदै भारतीय सीमासम्म गाँजा ओसारपसार गराउने कार्यमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत एक प्रहरी जवानको समेत भूमिका रहेको आरोप लगाइएको छ। स्रोतका अनुसार उक्त प्रहरी जवानमार्फत विभिन्न स्थानमा ‘सेटिङ’ मिलाइने र गाँजा ओसारपसार सहज बनाइने गरिएको दाबी छ।

प्रहरी संगठनभित्रै पनि सिंहको भूमिका र प्रभावबारे प्रश्न उठ्ने गरेको बताइन्छ। सामान्य दर्जाका कर्मचारी हुँदाहुँदै पनि प्रदेशस्तरका विभिन्न गतिविधिमा प्रभाव जमाउन सफल भएको विषयले संगठनभित्र चासो र चर्चा बढाएको स्रोतहरूको भनाइ छ।

अंकित सिंहको नाम यसअघि पनि विवादमा तानिएको थियो। मधेस प्रदेशमा कार्यरत रहँदा उनी घुमुवा प्रहरीको भूमिकामा रहेको विषयमा गुनासो परेपछि प्रहरी प्रधान कार्यालयले उनलाई उजुरी छानबिन शाखामा तानेर अनुसन्धान गरेको स्रोतको दाबी छ। त्यसक्रममा भेटिएका केही कमजोरीका आधारमा उनको सरुवा पाँचथर गरिएको बताइन्छ।

तर, पाँचथरमा पुगेको केही समयमै उनलाई पुनः काज सरुवामार्फत कोशी प्रदेश प्रहरी कार्यालयमा ल्याइएको स्रोतहरूको भनाइ छ। संगठनभित्रका केही अधिकारीहरूले सिंहको मुख्य जिम्मेवारी सूचना संकलनभन्दा बढी विभिन्न स्रोतबाट रकम उठाउने रहेको आरोप लाग्दै आएको बताएका छन्।

सिंहमाथि आफूलाई मन नपरेका प्रहरी कर्मचारी वा अधिकारीविरुद्ध बेनामी उजुरी हाल्ने, सामाजिक सञ्जालमा नक्कली परिचय (फेक आईडी) प्रयोग गरी अभियान सञ्चालन गर्ने जस्ता आरोपसमेत लागेका छन्। स्रोतहरूका अनुसार उनले विभिन्न व्यक्तिसँग सम्पर्क र संवादका लागि एकभन्दा बढी मोबाइल फोन र ल्यापटप प्रयोग गर्दै आएका छन्।

यता, आरोपबारे प्रतिक्रिया दिँदै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेले सहायक हवल्दार सिंह आफ्नो मातहतमा कार्यरत रहेको स्वीकार गरे पनि उनलाई सादा पोसाकको प्रहरीका रूपमा परिचालन गरिएको दाबी अस्वीकार गरेका छन्।

डीआईजी घिमिरेले भने, “उहाँ आईटीसम्बन्धी काममा दक्ष हुनुहुन्छ। त्यही कारणले उहाँलाई यहाँ ल्याएर साइबर शाखामा जिम्मेवारी दिइएको हो। उहाँलाई घुमुवा प्रहरीका रूपमा खटाइएको छैन।”

सिंहमाथि लगाइएका गाँजा तस्करी, रकम असुली, सेटिङ मिलाउने तथा संगठनभित्र प्रभावको दुरुपयोगसम्बन्धी आरोपबारे भने हालसम्म कुनै औपचारिक अनुसन्धान सार्वजनिक भएको छैन। आरोपहरूको सत्यता सम्बन्धित निकायको छानबिनबाट मात्रै पुष्टि हुन बाँकी रहेको छ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
387 Shares