खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी ।  पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।

कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ ।

उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ । यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ । कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ ।

त्यसैगरी पहाडी जिल्लामा कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ । यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कूल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ ।

बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ । त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ ।

यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कूल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा रहेको छ ।

निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताउनुभयो । “सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ । यी जिल्लामा खेतीयोग्य जमिन कम हँुदै जानु बिडम्वना हो ।” उहाँले यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५÷१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ ।” माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्मा मासिन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ ।” बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्नुहुन्छ । उहाँ पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्नुहुन्छ ।सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उहाँको भनाइ छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares