महिला निषेधित मन्दिर

जात, लिङ्ग आदिका आधारमा गरिने भेदभावलाई कानूनले दण्डनीय माने पनि देशका विभिन्न ठाउँमा अझै त्यस्ता मन्दिर छन्; जहाँ कतै परम्परा, कतै किंवदन्ती र कतै अन्धविश्वास मार्फत मनोवैज्ञानिक त्रास फैलाएर महिला प्रवेशमा रोक लगाइएको छ।

संविधानमा मौलिक हक अन्तर्गत धारा १८ मा सबै नागरिक कानूनको दृष्टिमा समान हुने र जात, धर्म, लिङ्ग, शारीरिक अवस्थाको आधारमा भेदभाव नहुने भनिएको छ । यस्तै, धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकमा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने र पीडितले कानून बमोजिम क्षतिपूर्ति पाउने उल्लेख छ ।

संविधानले मात्र होइन, मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (३) ले महिला रजस्वला (महीनावारी) हुँदा वा सुत्केरी अवस्थामा छाउपडी गोठमा राख्न वा त्यस्तै अन्य कुनै पनि किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गरेमा कैद र जरिवाना हुने प्रावधान राखेको छ ।

तर, संविधान र कानूनले वर्जित गरेका विभेदपूर्ण अभ्यास अहिले पनि व्यवहारमा देखिन्छ, त्यो पनि धार्मिक स्थलहरूमै । हिमाल ले गरेको खोजमा काठमाडौं उपत्यका सहित देशभरका दर्जनभन्दा बढी मन्दिरमा लिङ्गका आधारमा महिलालाई पूर्ण तथा आंशिक निषेध गरिएको पाइएको छ ।

काठमाडौं उपत्यकामा ललितपुर लगनखेलस्थित हनुमान मन्दिर, धादिङको ढोला मण्डली, रामेछापको महांकाली देवी, धनुषाको राजदेवी, मकवानपुरको चिसापानी गढी र बटुक भैरव, धनकुटाको छिन्ताङ्ग जाल्पादेवी, बाग्लुङको माई भगवती, प्यूठानको स्नाथान, दोलखाको महांकाली माई लगायत मन्दिरहरूमा महिला जान मिल्दैन । विभिन्न किंवदन्ती र धार्मिक पक्ष जोडेर ती मठ–मन्दिरमा महिला र कतिपयमा दलितलाई पनि प्रवेशमा रोक लगाइएको छ ।

नसच्चिएको विभेद

धनकुटा बजारबाट १६ किमी पश्चिममा रहेको छिन्ताङ्ग जाल्पादेवी मन्दिरमा रजस्वला हुन थालेपछिका किशोरी/महिला जान नहुने मान्यता छ । महिलाका लागि पूजा गर्न मूलद्वारसँगै अलग्गै ठाउँ बनाइएको छ । २०५८ सालमै गैरसरकारी संस्था महासंघको अगुवाइमा महिला र दलित सहित १० जनाको टोली जाल्पादेवी मन्दिर गएको थियो ।

त्यही प्रयासपछि दलित समुदायका पुरुष मन्दिरमा प्रवेश गर्न थालेको उक्त टोलीमा सामेल प्रदेश–१ की प्रदेश सभा सदस्य कुसुमकुमारी श्रेष्ठ सम्झिन्छिन्। गएको कात्तिकमा उनी सहित चार महिला फेरि त्यहाँ पुगे । उनी सुनाउँछिन्, “मन्दिर पुगेर टीका लगाइदिन आग्रह गर्दा पुजारीले गर्न नहुने काम गरेको भन्दै कराए, तर परिचय दिएपछि भने टीका लगाइदिए ।”

करीब ५०० वर्षअघिको मानिने यो मन्दिरमा महिलालाई कहिलेदेखि रोक लगाइयो भन्ने यकिन छैन । मन्दिरमा वंशीय परम्परा अनुसार राई समुदायका पुजारी हुन्छन् । गाउँपालिकाका अध्यक्ष मनोज राई मन्दिरमा महिला जान निषेध गर्नुहुँदैन भन्ने छलफल भइरहे पनि पुजारीले ‘देवी रिसाए अनिष्ट हुन्छ’ भनेकाले परम्परादेखिको चलन कायमै रहेको बताउँछन् ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ स्थित ढोला मण्डलीको मन्दिरमा पनि महिला प्रवेश निषेधित छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक थापा परापूर्वकालदेखि नै महिला जान नहुने मान्यता रहेकाले अहिले पनि नजान आग्रह गर्ने गरेको बताउँछन् । हरेक मंगलवार पाठी बलि दिइने यो शक्तिपीठमा मगर समुदायको १२ वर्षभन्दा मुनिका बालक (अविवाहित) पुजारी हुन्छन् । गाउँपालिकाकी उपाध्यक्ष जानुका सिम्खडा पाठीको बलि दिइने मन्दिरमा जान मात्र होइन, महिलाले प्रसाद समेत खान नहुने विभेदकारी मान्यता कायम रहेको बताउँछिन् ।हिमाल खबर बाट

 

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
११ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares