दिदीभाइको ठगी धन्दाले बिचल्ली भएका युवाहरूको कथा

सिन्धुलीका निरज मोक्तान साउदी अरबमा बारिस्ता काम गर्थे। त्यहाँ छँदै सामाजिक सञ्जालहरूमा ‘युरोप पठाइदिने’ भन्ने विज्ञापनहरू देख्न थालेका थिए।

खाडीमा पसिना बगाइरहेका उनलाई युरोप सहज हुन्छ भन्ने लाग्यो। विज्ञापन गर्ने कम्पनी नेपालीले चलाएका थिए। कार्यालय भने युएईको आवुधाबीमा थियो। विदेशमा भएको कम्पनी देखेर निरजलाई अलि भर पनि लाग्यो।

उनले ‘वर्कसोल ह्युमन रिसोर्स कन्सल्ट्यान्ट्स’ नामक कम्पनीमा सम्पर्क गरे। कम्पनीले दुबई वा भारत हुँदै पोल्यान्ड पठाइदिने आश्वासन दियो। उनलाई भिसा, वर्क–पर्मिट लगायत प्रक्रियामा लाग्ने पैसा पठाउन भन्यो र नेपालमा रहेको एक बैंकको खाता नम्बर दियो।

निरजले साउदी अरबबाटै अन्जन ढकालको नाममा रहेको त्यो खातामा एक लाख पचास हजार रूपैयाँ हालिदिए।

कम्पनीले पोल्यान्ड पठाइदिने आश्वासन दिइरह्यो। यसबीच निरजले साउदीमा काम गरेको दुई वर्ष पूरा भयो र उनी नेपाल फर्किए।

‘पोल्यान्डको टुंगो भइसकेको थिएन। जाने खर्च पनि चाहिन्छ भनेर म फेरि बारिस्ता काममै कतार गएँ,’ निरजले भने।

कतारबाट पनि उनले वर्कसोलमा सम्पर्क गरिरहे। कम्पनीले फेरि पैसा माग्यो। उनले ५० हजार रूपैयाँ हालिदिए। पोल्यान्ड जाने सपना देख्दै उनी कतारबाट ६ महिनामै नेपाल फर्किए।

अहिले उनी नेपाल बसेकै एक वर्ष बितिसक्यो।

कम्पनीलाई दुई लाख रूपैयाँ बुझाएको डेढ वर्ष भइसक्दा पनि उनी पोल्यान्ड जान पाएनन्। न पैसा फिर्ता पाए।

‘अब जान पाउने आश पनि छैन। त्यसैले दुबई जाने तयारी गरिरहेको छु,’ निरजले भने।

निरज जस्तै पैसा बुझाएर युरोप जान नपाएका अर्का युवा हुन् रामेछापका नवीन खड्का।

नवीन पनि सामाजिक सञ्जालमै वर्कसोलका विज्ञापन देखेर आकर्षित भएका थिए। वर्कसोलले युरोप पठाइदिने भनेपछि उनले पनि अन्जन ढकालको खातामा एक लाख पचास हजार रूपैयाँ जम्मा गरिदिए।

उनको पनि पैसा फस्यो।

‘अब त हरेश खाइसकेँ। सर्बिया जाने प्रयास गर्दैछु,’ नवीनले भने।

पछिल्लो समय धेरै युवा कामका लागि युरोपतिर आकर्षित छन्। पोल्यान्ड, माल्टा, लिथुनिया, पोर्चुगल जस्ता देश जान लाखौं खर्च गर्नेहरू पनि छन्। युवाहरूको यही मनस्थिति बुझेर थुप्रै कम्पनीले उनीहरूबाट लाखौं पैसा असुलेका छन्। खासगरी युएईको दुबई वा भारतबाट सिधै युरोप पठाइदिने भन्दै ठगी गरेका छन्।

यस्तै कम्पनीमध्ये एक हो युएईको आवुधाबीमा रहेको वर्कसोल ह्युमन रिसोर्स कन्सल्ट्यान्ट्स। यो कम्पनीकी सञ्चालक हुन् सुरक्षा ढकाल। निरज र नवीनले पैसा जम्मा गरिदिएको बैंक खाताबाहक अन्जन ढकाल सुरक्षाका भाइ हुन्।

‘दिदीले आवुधाबीबाट कुरा गरेर भाइले यहाँ नेपालबाट सबै मिलाएर पठाइदिन्छन् भन्थिन्,’ नवीनले सुनाए, ‘दिदीभाइ मिलेर धेरै जनालाई ठगेका छन्।’

ढकाल दिदीभाइले करिब एक सय पचास जनासँग पैसा लिएर ठगी गरेका उनले बताए। ठगिएकाहरूले एउटा समूह नै बनाएका छन् जसमा पचास जनाभन्दा बढीले आफ्नो कति रकम फसेको भनेर विवरण टिपाएका छन्।

‘ती दिदीभाइले ठगेका पचास जना त म आफै चिन्छु। एक जनाबाट डेढ लाखदेखि चार–पाँच लाख रूपैयाँसम्म ठगेका छन्,’ नवीनले भने।

नवीन, निरज र अरू केही पीडितले वर्कसोललाई बारम्बार सम्पर्क गरेर पैसा फिर्ता मागेका थिए। तर कम्पनीको मोबाइल नम्बरबाट उल्टो कानुनी प्रक्रियामा जान चुनौती दिँदै उनीहरूलाई सन्देश आयो।

worksol1-1750851998.jpg
वर्कसोल कम्पनीले पठाएको सन्देश

यसपछि पीडितमध्ये केहीले ढकाल दिदीभाइविरूद्ध उजुरी दिएको नवीनले बताए।

‘हामीले उनीहरूविरूद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुर र वैदेशिक रोजगार विभागमा उजुरी दिइसकेका छौं,’ नवीनले भने, ‘अन्जनविरूद्ध यहाँबाट पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनी फरार छन्। दिदीभाइ नै सम्पर्कमा छैनन्। दुबईतिरै होलान्। आवुधाबीको उनीहरूको कम्पनी पनि बन्द भइसकेको छ।’

आवुधाबीको कम्पनीको आधिकारिताबारे पनि आफूहरूलाई यकिन नभएको उनले बताए। पीडितहरूमध्ये केहीसँग अन्जन ढकालको नाममा पैसा हालिदिएको, पैसा पाएको भनेर कम्पनीको नामबाट आएको रसिदको प्रति भने छ।

worksol2-1750851998.jpg
वर्कसोलका नामबाट आएको रसिद, पीडितहरूले अन्जन ढकालका नाममा पैसा जम्मा गरेको रसिद र पीडितहरूको समूहले ठगिनेहरूको विवरण संकलन गरी तयार गरेको नाम सूची

यही सोमबार उदयपुर गाइघाटकी लिलामाया मगरले वर्कसोल र अन्जनविरूद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छन्। सुरक्षाले आवुधाबीबाट अन्जनको खातामा पैसा राख्दिन भनेपछि लिलामायाले चार लाख रूपैयाँ जम्मा गरिदिएकी थिइन्।

‘पोल्यान्डको वेयर हाउसमा फुड प्याकिङको काम छ, महिनामा एक लाख २० हजार रूपैयाँ हुन्छ भनिएको थियो। ६ महिनाभित्र पठाउन नसके पैसा फिर्ता हुन्छ पनि भनेका थिए,’ लिलामायाले भनिन्, ‘पैसा बुझाएको १४ महिना भइसक्यो। न जान पाएँ, न पैसा फिर्ता पाएँ, न मान्छे सम्पर्कमा छन्।’

पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरी विदेश पठाइदिने नाममा ठगी हुने क्रम बढ्दो छ। विदेशमा कार्यालय छ भन्दै नेपालीहरूले नै सयौं नेपालीहरूलाई यस्तो ठगीको जालोमा पारेका छन्। तर यी ठगीको बलियो प्रमाण पीडितहरूसँग छैन। किनभने कतिले नक्कली अफिस र कागजात देखाएर झुक्क्याएका छन्, कति व्यक्तिगत सम्बन्धबाटै लेनदेन गर्दा ठगिएका छन्।

वैदेशिक रोजगारीमा हुने ठगीका घटना हेर्ने निकाय वैदेशिक रोजगार विभाग हो। यसमा प्रहरीको पनि भूमिका हुन्छ।

बलियो प्रमाण नभएका वा प्रमाण नै नभएका यस्ता प्रकृतिका घटनामा विभाग र प्रहरीले के गर्न सक्छन् त?

हामीले यसबारे सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरेका छौं।

वैदेशिक रोजगार विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार अहिले युरोप जाने क्रममा ठगिएको भनेर दैनिकजसो उजुरी आउँछ। विदेश जान पैसा दिएको भन्ने विवरण उल्लेख गरिएको प्रमाण भए, त्यस्तो पैसा उठाउन सकिने उनले बताए।

सकेसम्म जाने देश, कम्पनी, कमाइ सबै बुझेर पैसा बुझाउनुपर्छ। यी कुरा थाहा छैन भने पनि पैसा दिँदा विदेश जान दिएको भनेर उल्लेख गर्नैपर्छ,’ शिवाकोटीले भने, ‘यसरी उल्लेख भएको अवस्था बाहेकमा पैसा उठाइदिने आधार हुँदैन। त्यसैले व्यक्ति स्वयं पनि सचेत हुनुपर्छ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले वैदेशिक रोजगारीका लागि भनेर जसलाई पनि विश्वास गर्दा धेरै समस्या आएको बताए।

उनका अनुसार वैदेशिक रोजगारीका लागि भन्दै कसैले असम्बन्धित मान्छेलाई त कसैले प्रमाणबिनै रकम बुझाएका हुन्छन्।

‘रकम बुझाएको प्रमाण पछिसम्म रहने हुनुपर्छ। जसले पठाउन लागेको हो, उसकै खातामा मात्र पैसा दिनुपर्छ,’ उनले भने, ‘यस्तो नभएको अवस्थामा पीडितले दुःख त पाउँछ नै, पैसा पनि उठ्दैन।’

त्यस्तै विदेश पठाउने भनेको व्यक्तिले आफूसँग कसरी सम्पर्क गरेको छ, सामाजिक सञ्जालमा मात्र कुरा गरेको हो कि भन्ने ख्याल राख्नुपर्छ। कारोबार गर्ने व्यक्तिसँग सम्भव भएसम्म भेटेर, नभए रेकर्डसहित फोनमा कुरा गर्नुपर्छ। जुन माध्यमबाट कुरा गरेको भए पनि प्रमाण रहने गरी हुनुपर्छ।

जस्तै — मैले तपाईंलाई पोल्यान्डका लागि भनेर १५ लाख बुझाइसकेँ, अब तीन/चार महिनामा मेरो काम हुन्छ नि भन्नुपर्छ। अनि एजेन्टले त्यसमा दिएको प्रतिक्रिया समेत प्रमाणको रूपमा रहन सक्छ।

उनका अनुसार विदेशमा बसेर ठगी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन भने कठिन छ।

यस्तो अवस्थामा सम्बन्धित देशमा रहेको नेपाली दूतावासले केही गर्न सक्छ?

हामीले यसबारे युएईका लागि नेपालका एक पूर्वराजदूतलाई सोध्यौं।

उनका अनुसार पहिलो समस्या त, ठगिएका नेपालीहरू दूतावासमा उजुरी दिन जाँदैनन्। पैसा बुझाएको प्रमाणसहित उजुरी गर्न आए, कारबाहीका लागि दूतावास र कन्सुलर अफिसले समन्वय गर्न सक्छ।

त्यस्तै सम्बन्धित देशमा नेपालका एक उच्च तहका प्रहरी अधिकृत भएमा ठगी केही कम हुने, अनुसन्धानमा सहज हुने र पीडितले जानकारी गराउन वा उजुरी दिन पनि सहज उनको भनाइ छ। छिमेकी भारतले पनि भारतीय नागरिक वैदेशिक रोजगारीमा गएका देशमा आफ्नो प्रहरी राखेको उनले बताए।

‘जस्तै दुबईमा एक जना उच्च तहको प्रहरी अधिकारी भए त्यहाँको प्रहरीसँग समन्वय गर्न सजिलो हुन्छ। कोही ठगिएको छ भने पनि अनुसन्धानको दायरामा ल्याउन सहज हुन्छ,’ ती पूर्वराजदूतले भने, ‘अर्को कुरा, नेपाल प्रहरी छ भनेपछि एजेन्टहरू आफै पनि मानसिक रूपमा सतर्क हुन्छन्। यसले ठगी घटना कम गर्न मद्दत हुन सक्छ।’सेतोपाटी

ऋण गरेको पैसा फसेपछि आफू अन्योलमा परेको उनले बताइन्। आफूले चिनेको बहिनीमार्फत् बुझ्दा आवुधाबीको वर्कसोल कम्पनी बन्द भइसकेको र सञ्चालक सम्पर्कबिहीन भएको उनले थाहा पाएकी छन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
419 Shares