बैदेशिक रोजगार ठगीमा वडाध्यक्ष नै साक्षी !

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले अबैध रुपमा क्यानडा पठाउन भन्दै लिएको ६ लाख रुपैयाँको प्रमाणीकरण गरिदिएका छन् । अवैध कामका लागि प्रमाणिकरण गर्न कानूनतः मिल्दैन ।कानूनले नमिल्ने विषयमा पनि वडाध्यक्ष सुबेदीले प्रमाणीकरण गरिदिएका कारण क्यानाडा जान भन्दै ‘भुइँ छाडेर उड्न’ खोजेका उदयपुरका महेश राईको सपना सबै हावाले उडाएको छ ।
२०८१ साल असार १० गते वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै वडाध्यक्षकै छिमेकी तथा कार्यकर्ता गोकुल चौलागाईंले लिएको ६ लाख रुपैयाँको तमसुकमा अध्यक्ष सुवेदीले ११ गते नै प्रमाणीकरण गरिदिएर स्थानीय सरकारका प्रतिनिधिको धज्जी उडाएका छन् ।
उनले गैरकानूनी काममा बैधता दिएर स्थानीय प्रतिनिधिहरुको अज्ञानताको वा गैरजिम्मेवारीपनको परकाष्ठा नै प्रकट गरेका छन् । तमसुकमा क्यानडा पठाउन नसकेको खण्डमा वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४३ बमोजिम कानूनी कारबाही गरी साँवा, हर्जना तथा क्षतिपुर्तिसहित असुल उपर गरी लिनू भनी वैदेशिक रोजगारीको तमसुक बनाइएको छ । जुन कानूनी र व्यवहारिक दुबै कोणबाट गैरकानूनी छ ।
तमसुकमा उल्लेख गरे अनुसार बैदेशिक रोजगारीका लागि अबैधरुपमा क्यानाडा पठाई २०८१ साल कार्तिक १० गतेभित्रै जागिर लगाउने बाचा गरेका गोकुल चौलागाईंले नपठाएपछि पीडितले अहिले मिडियालाई गुहारेका छन् । । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित सुवेदीले जानी बुझिकनै प्रमाणीकरण गरेको गोकर्णेश्वरकै अर्का एक वडाध्यक्षले दाबी गरे ।
यस विषयमा हाम्रा संवादादाताले अध्यक्ष सुवेदीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भने– ‘पीडितलाई पठाइदिनू गोकुल मेरै चिनेजानेका मान्छे हुन्, प्रहरी लगाएर भए पनि पैसा उठाउँला ।’ तपाईंले किन कानूनको बर्खिलाप गर्नुभयो ? भन्ने प्रश्नका लागि पुनः सम्पर्क गर्दा वडाध्यक्ष तथा नगरका प्रवक्ता सुवेदीले फोन नै उठाएनन् ।
पछिल्लो समयमा फेसबुक, इन्स्ट्राग्राम, इमोलगायतका सामाजिक सञ्जालमार्फत् वैदेशिक रोजगारीका निमित्त बिभिन्न प्रकारका आश्वसन दिएर प्रचार प्रसार गरिएका कारण थुप्रै बेरोगार युवाहरु फसिरहेका छन् । तथापि नियमन गर्ने निकायहरुको ध्यान जान सकिरहेको छैन ।
क्यानडा पठाइदिने भन्दै फसाउने चालबाजी गरी पैसा हातपारेका चौलागाई क्यासिनो जाने गरेको उनी निकट व्यक्तिहरुले बताउने गरेका छन् । यो विषयमा यस संवादादातासँग उनले रकम फिर्ता गरिदिने बाचा गरेका थिए । तर, उनी पछि थप प्रतिक्रिया लिन खोज्दा चाहिँ सम्पर्कविहीन बनेका छन् । अवैध रुपमा विदेश पठाउन लिएको रकममा प्रमाणीकरण गरिदिने वडाध्यक्ष नारायण सुवेदीलाई पनि कानून बमोजिम कारबाही हुने अवस्था छ ।
भ्रम सिर्जना गरी विदेश पठाउने कार्य गैरकानूनीः विभाग
वैदेशिक रोजगार विभागले एक विज्ञप्ति प्रकाशन गरी फेसबुक, भाईवर, टिकटक, युट्युव तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालहरुमा वैदेशिक रोजगारीमा पठाइदिने भनी बिभिन्न प्रलोभनहरुसहितका विज्ञापन गर्ने, राम्रा र आकर्षक सुबिधा भएका देशमा पठाइदिने भन्ने आश्वासन दिन, पैसा उठाउने तथा राहदानीहरु संकलन गरेर दुःख दिने, साथै E-7 भिसा मार्फत् कोरिया पठाइदिन्छु भनी गैरकानूनी गतिविधि गरेको भन्ने सुनिन आएकोले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगार ऐन– २०६४ ले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानका लागि खुला गरेका मुलुकहरुको हकमा वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई नेपालकै विमानस्थल प्रयोग गरी जान सकिने तथा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त संस्था बाहेकले सो सम्बन्धी कार्य गर्न नपाउने समेत कानूनी व्यवस्था भएको उल्लेख गरेको छ ।
विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जारी गरेको विज्ञप्तिमा कानून बिपरीत श्रम स्वीकृत नलिई अर्को मुलुकको विमानस्थल प्रयोग गरी गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरी विदेश पठाउने–जाने कार्य गैरकानूनी भएको र यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरु बिभिन्न जोखिममा पर्न सक्ने मानव तस्करी, श्रम शोषण, दुब्र्यवहार झनै बढ्नसक्ने देखिन्छ ।
विज्ञप्तिमा थप जानकारी दिँदै वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन २०६४ ले तोके बमोजिम अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको एकीन गरी नेपालकै विमानस्थल प्रयोग गरी तोकिए बमोजिमका तालिम÷ओरिएन्टेशन तथा आफ्नो स्वास्थ्य चेकजाँच गरी कानून बमोजिम वैदेशिक रोजगारीमा जान आव्हान गरेको छ । यसरी गैर कानूनी रुपमा विदेश जाने वा पठाउने जो कोहीलाई पनि कानून बमोजिम कारबाही हुने विज्ञप्तिमा थप उल्लेख गरिएको छ । विष्णुप्रसाद होमागाईं, डायरी एक्सप्रेस साप्ताहिकबाट

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
278 Shares