अज्ञात रोगले मनाङका चौरी मर्न थाले

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उनले भने ।समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भने ।

जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उनले बताए । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।

भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिए । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेको उनले बताए ।

रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उनले भने, “हिमाली चौरीमा भाद्र–आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”

रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।

सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।

ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।उनका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् । रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares