दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति

सामान्यतया, देशको व्यवस्था नै परिवर्तन भएको वा राज्यले राजनैतिक संकटको सामना गर्नु परिरहेको अवस्थालाई संक्रमणकाल भनिन्छ । तर, हाम्रो देशमा पछिल्लो पटक व्यवस्था परिवर्तन भएको पनि १९ वर्ष पूरा भएर २० औं वर्ष लागिरहेको छ । र पनि राज्यमाथि संक्रमणकालको रोगले छाडिरहेको छैन । यसको मूल कारण अस्थिर सरकार अनी अदुरदर्शी नेता नै हुन् भन्दा फरक पर्दैन ।
हो, यस्तो संक्रमणकालिन परिस्थितिमा राज्य अनि नागरिकको आवश्यक रेखदेख गर्ने निकाय भनेकै सुरक्षाका अंग हुन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी अनी राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर प्रहरी नै राज्यमा शान्ति सुरक्षा अनी नागरिकका अधिकार हनन् हुन नदिन क्रियाशिल रहनु पर्ने अवस्था छ । तर, वर्तमान परिप्रेक्षमा नेपाली सेनाले मौनता देखाएको अनी सशस्त्र प्रहरी नागरिक केन्द्रीत हुन नसकेको तथा गुप्तचर प्रहरी राजाको काम कतिबेला जाला घाम जस्तो परिस्थितमा अल्झिइरहेको देखिन्छ । यस परिवेशमा नेपाल प्रहरी नै नागरिकका हरेकजसो क्रियाकलाप तथा दैनिकीमा जोडिएको पाइन्छ । यस्तो महत्वपूर्ण अनी अति आवश्यकीय प्रहरी संगठनको नेतृत्वकर्ता उनै अदुरदर्शी नेताको गठबन्धनमा बनेको सरकारको कठपुतली बनिदिँदा त्यो प्रहरी संगठनले आफूलाई प्राप्त जिम्मेवारी कसरी निर्वाह गर्दै होला ? जुन जोगि आए पनि कानै चिरेका भनेजस्तो प्रहरीको नेतृत्वमा प्रतिस्पर्धी मध्ये जसलाई पुराउनु पर्दा पनि सरकार सञ्चालनमा रहेका नेताजीहरुले आफ्नो अनी आफ्नो परिवार, नातागोता हुँदै पार्टी कार्यकर्ताको स्वार्थ अनुसार चल्न बाध्य पार्ने गरेको पाइन्छ । प्रतिस्पर्धी जसले सरकार प्रमुख वा सत्ता गठबन्धन दलका शिर्ष नेताको चित्त बुझाउन सक्छ, प्रहरी नेतृत्व उसैले पाउने गरेको तथ्य जगजाहेर नै छ । के कनिष्ठ, के वरिष्ठ ? को योग्य को अयोग्य ? बस चाकडी गर्यो, व्रिफकेश बुझायो, भविष्यमा आदेश शिरोधार्य गर्ने बचनबद्धता प्रकट गरेको खण्डमा उसैले पाउने गरेको छ प्रहरी नेतृत्व । एकाध अवस्थामा बाहेक त्यो विगतका कयौं अवस्थाले पुष्टि गरिसकेको छ । एकाध अवस्थामा प्रहरी नेतृत्वमा पुगेकाले पनि आदेश पालना गर्ने क्रममा सभक्ति अनूनय विनय देखाएको लुक्दैन ।
एक हप्ता मात्रै भएको छ नेपाल प्रहरीमा नेतृत्व परिवर्तन भएको । सवा २ महिनाका लागि प्रहरी नेतृत्वमा पुगेका चन्द्र कुवेर खापुड्ग प्रहरी संगठनमा २९ वर्ष साढे नौं महिना अवधिमा विवादरहित रहेको, विगतमा पनि प्रचारमुखी नदेखिएको, कोही कसैलाई नपिरलेकै कारण उनी छोटै समयका लागि सही प्रहरी महानिरीक्षकको कुर्सीमा बस्ने अवसर पाएका हुन् । इतिहासमा ३२ औं आईजीपीका रुपमा उनको नाम दर्ज भएको छ । तर, निकै छोटो कार्यकाल भएकाले उनले चाहेर पनि खासै संगठनका लागि कुनै योगदान गर्न सक्ने त छैनन्, तै पनि उनले आफ्नो नेतृत्वकालमा कुनै नेता वा सरकार रहेकाहरुको गुलामी गरेनन्, संगठनको हित विपरित उनीहरुको आदेश मानेनन्, अटेर गरीदिए मात्रै पनि उनले आफ्नो कार्यकालमा प्रहरी संगठनका लागि गरेको महत्वपूर्ण योगदान ठहर्नेछ । यसका लागि उनले आजभोली नै गर्ने एआईजीमा बढुवा सिफारिस, उनीहरुको पदस्थापन अनी हाल भइरहेका चार एआईजीको विभागिय जिम्मेवारी । अनी त्यस लगत्तै उनकै कार्यकालमा हुने डीआईजी बढुवा सिफारिस । यीनै डिआईजी मध्येबाट ३४ औं प्रहरी महानिरीक्षक बन्ने भएकाले पनि भविष्यमा संगठनको हितका लागि पनि डिआईजी बढुवामा योग्य क्षमतावान, व्यवसायीक अधिकारीको चयन हुनै पर्ने देखिन्छ । नेताजीको इच्छाअनुसारको आदेशमा फलानालाई एक नम्बर र दुई नम्बर गर्न थालेको खण्डमा चन्द्र कुवेर पनि आयाराम गयाराम नै देखिने छन् । साथै, यीनै चन्द्र कुवेरले आफ्नो उत्तराधीकारीको छनोटमा पनि भूमिका खेल्न सक्ने भएकाले ३३ औं महानिरीक्षकको चयन गर्ने क्रममा जसरी आफू विना चाकडी र विना प्रचार गोल गर्न सक्षम भए, आफ्नो उत्तराधीकारीका लागि पनि त्यस्तै बाटो तय हुने अवस्था सिर्जना गरिदिनु पर्ने हुन्छ ।
राजधानी काठमार्डौ प्रमुख पर्यटकिय नगरी पोखरा, सप्तारी, झापाजस्ता तराई क्षेत्र, बुद्धजन्मस्थल लुम्बीनी प्रदेशको समेत विभिन्न तहमा रहेर कमाण्ड गरिसकेका, प्रहरीको केन्द्रीय प्रवक्ता अनी हाल मानवस्रोत विभागको प्रमुखका रुपमा कार्यरत एआईजी दानबहादुर कार्की भावी प्रहरी महानिरीक्षकका रुपमा प्रतिस्पर्धी हुन् । वरिष्ठताका आधारमा उनी १ नम्बरमा छन् । प्रहरी संगठनभित्र निकै रुचाइएका, व्यवसायीक सापको परिचय छरेका र विभिन्न राजनैतिक दलका विवादमा नतानिएका नेताका नजरमा पनि रामै्र छाप छाडेका एआईजी दानबहादुर कार्की सम्भवत अवको दुई महिनामा प्रहरीको नेतृत्वमा पुगेको खबर सुन्न पाइने छ ।
गुल्मीको मालिका गाँउपालिका वडा नम्बर ७ मा जन्मेका उनले हुने विरुवाको चिल्लो पात भनेझैँ बाल्यकालमै आमा घर परिवारको काममा सघाउने, भाडा माझ्ने, कुचो लगाउने लगायत काममा पोख्त भइसकेका थिए । स्कुले जीवनमा जेहनदार छात्राको सूचीमा पर्ने कार्की राम्रो पढाइँसँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अग्रसर हुन्थे । उनले सानैदेखि पढाइँसँगसँगै सरकारी जागिरको मोह पालिसकेका थिए ।
बाल्यकालमा सरकारी जागिरे बनेर कूटनीतिक सेवातर्फको सोच राखेता पनि त्यसअघि नै उनी प्रहरी सेवातिर मोडिए ।  २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक नियुक्त भएका उनको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । प्रहरीमा लोकसेवाको परीक्षा सुरुवाती उनकै व्याच बाट भएको हो । आफूले काम गर्दा सधैँ मुलुक र जनतालाई शिरमा राखेर काम गरी रहेको छु भन्ने ठान्ने नागरिक र प्रहरीको बराबरी साथ सहयोगमा मात्र कानुनको कार्यान्वयनमा सहज हुने बताउँछन् ।
एआईजी कार्की साङ्गीतिक क्षेत्रमा पनि विशेष रुचि राख्छन् । बाल्यकालमा गायन र नृत्य दुवै गर्ने गरेका उनले पछिल्लो समयमा तीन चार वटा गीतहरू बजारमा ल्याइसकेका छन् । उनको पछिल्लो समयको गीत प्रहरीसँग नै सम्बन्धित रहेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएसँगै, उनले प्रहरी संगठनलाई सुधार, पारदर्शिता, र नवीन सोचको बाटोमा अघि बढाउने रणनीतिमा सशक्त ढंगले काम गर्न थालेका छन् ।
नेतृत्वका लागि एआईजी कार्की अन्यभन्दा पृथक धेरै सन्दर्भले छन् । प्रेरणादायी वक्ता, अनुशासन, देशभक्ति र नेतृत्वबारे भाषणले प्रहरीभित्र आत्मबल जागृत पार्ने गरेको पाइन्छ । ठूला जनसभा, आन्दोलन वा विपद् व्यवस्थापनमा अत्यन्त संवेदनशील र चतुर निर्णय क्षमताका रुपमा आफूलाई संगठनभित्र निर्विवाद चिनाएका छन् । जनताको सेवामा समर्पित प्रहरी भन्ने आदर्शलाई व्यवहारमा रूपान्तरण गर्ने अधिकारीका रुपमा संगठन भित्र चिनिएका उनले विगतमा राजनीतिक संक्रमणकाल, महामारी, तथा सामाजिक अस्थिरताको बेला पनि संयमता र सक्रियताका साथ प्रहरी संगठनलाई सशक्त रूपमा संचालन गर्न सफल ठहरीएका थिए ।

Facebook Comments Box
TOP
131 Shares