सचिवले भने, काँधमा फुली टल्काएर भेट्न नजानु

काठमाडौं । जेनजी आन्दोलनले दुई दिनमै नेपालको राजनीति उथलपुथल पा¥यो। कसैले नसोचेको राजनीतिक परिवर्तन भयो। संविधानबाहिरबाट सरकार बन्यो। २३ गते निरपराध युवायुवतीको ज्यान गयो भने २४ गते देशका धरोहर, सरकारी भवन, सवारीसाधनदेखि निजी घरमा आगजनी गर्ने काम भयो। अर्बौँमा होइन, खरबौँको क्षति भयो। यो पृष्ठभूमिमा बनेको कामचलाउ चुनावी सरकारले न त जेनजीले सोचे अनुसारको काम गरेको देखिन्छ, न त राजनीतिक दलहरूलाई चुनावका लागि आवश्यक वातावरणको सिर्जना गर्न सकेको छ। सरकार र राजनीतिक दलहरू नजिकिन सकेको देखिँदैन भने पार्टीहरू तोकिएको मितिमा निर्वाचन होला भनेर पत्याउन पनि सकिरहेका छैनन्।
यो पृष्ठभूमिमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले मन्त्रालय सम्हालेको एकाध दिनमै भक्तपुर घर भएका रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारीमा ल्याए। राजनीतिक रूपमा एमालेसँग नजिक रहेका र केपी ओली प्रधानमन्त्री भएको बेला सुविधाभोग गरेका व्यक्तिको रूपमा चिनिएका दंगालले कट्टर एमालेका रूपमा निजामती प्रशासनमा चिनिएका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा भित्र्याएर प्रशासनको जिम्मेवारी दिएका छन्। यसरी पार्टीको कित्तामा चिनिएका उच्च तहका कर्मचारी गृह मन्त्रालयमा भित्रिएपछि गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि जेनजीले सोचेको र कल्पना गरेको अनुसार काम गर्न सहज देखिँदैन।
तिहारअगाडिको कुरा हो। गृह सचिव दंगाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षकसहितका उच्च सुरक्षा अधिकारीहरूको एउटा अनौपचारिक भेटघाट कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले सबैका सामु सशस्त्र प्रहरी बलका एक अतिरिक्त महानिरीक्षकतर्फ फर्केर भने, “तपाईंहरूले आफ्नो पदीय मर्यादा र हैसियत पनि बिर्सनुभयो? काँधभरि फुली लगाएर सुदन गुरुङलाई भेट्न जाने? यो त राम्रो भएन।”
यसपछि त्यहाँ सन्नाटा पनि छायो। सबै एकआपसमा मुखामुख गरे। एकले अर्कालाई शंकाको दृष्टिले हेर्न थाले। तर सशस्त्र प्रहरी बलको जुन एआइजी सुदन गुरुङलाई भेट्न गएका थिए, उनी चाहिँ रातोपिरो भए। उनको अनुहार हेर्नलायकको थियो।
जेनजी आन्दोलनमा पानी बाँढेर चर्चामा आएका सुदन गुरुङलाई पछि जेनजी आन्दोलन अपहरण गरेको आरोप पनि लाग्दै आएको छ। पछिल्लो समय धेरै विवादमा तानिएका गुरुङको पृष्ठभूमि पनि त्यत्तिकै विवादास्पद रहेको छ। यस्ता व्यक्तिलाई सशस्त्र प्रहरी बलको एआइजी जस्तो पदमा पुगेको व्यक्ति युनिफर्म लगाएर भेट्न जानु कति लज्जास्पद मात्रै होइन, चाकडीको पराकाष्ठा पनि हो। चाकडी गरेर व्यक्तिगत फाइदाका लागि उनले आफ्नो संगठनको बदनाम मात्रै गरेनन्, आफ्नो पदीय हैसियत पनि बिर्से।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
214 Shares