सेनाले राष्ट्रपतिको राजीनामा माग्यो भन्ने हौवा पूर्णतः असत्य : नेपाली सेनाका उच्च अधिकारी

काठमाडौं । हालै सामाजिक सञ्चालामा तीव्र रूपमा फैलिएको “सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा माग्यो” भन्ने दाबी पूणर्रूपमा निराधार भएको एक वरिष्ठ नेपाली सेनाका जर्नेलले स्पष्ट गरेका छन्।

ती जर्नेलका अनुसार सेना लोकतान्त्रिक संविधान, गणतन्त्र र संवैधानिक मर्यादाप्रतिको आफ्नो प्रतिवद्धतामा कहिल्यै विचलित भएको छैन। “राष्ट्रपतिको राजीनामा सेनाले माग्यो भन्ने कुरा सोह्र आना गलत हो,” उनले स्पष्ट रूपमा भने।

‘राष्ट्रपति बेहोसजस्तै हुनुभयो, हामीले होसमा ल्याएका हौँ’

जर्नेलका अनुसार मंसिर २४ गते देशभरि भएका विरोध–प्रदर्शनका क्रममा शीतलनिवास, बूढानीलकण्ठ र तनहुँस्थित राष्ट्रपति निवासमा उत्पन्न तनाव र आगलागीका घटनाले राष्ट्रपति पौडेल मानसिक रूपमा अत्यन्त आघातमा परेका थिए।

“१२ घण्टा सम्म उहाँ लगभग बेहोसजस्तै हुनुहुन्थ्यो। संवैधानिक प्रमुखकै घर–घरमा आगो लाग्दा कोही पनि होसमा बस्न सक्दैन। त्यसबेला हामीले नै उहाँलाई संभाल्नुपरेको हो,” जर्नेलले भने।

उनका अनुसार त्यस अवस्थालाई केही व्यक्तिहरुले तोडमोड गरी “राष्ट्रपति स्वयंले सेनालाई चुनौती दिए”, “राजीनामा मागे”, “म मारिएँ भने पनि नदियो भन्नू” जस्ता कथन बनाइयो, जुन सबै असत्य रहेको उनले दाबी गरे।

‘हामीले तङ्ग्र्यायौँ, उल्टो सेनामाथि दोषारोप’

जर्नेलले थपे, “त्यस्तो संकटमा हामीले राष्ट्रप्रमुखलाई नै ढाडस दिएका थियौँ, उल्टो सेनाले राजीनामा माग्यो भन्ने हौवा फिजाइयो। यो पूर्णतः मनगढन्ते प्रचार हो।”

उनका अनुसार केही समूहहरूले अस्थिरता र अविश्वास फैलाउन राष्ट्रपति–सेना सम्बन्धमै दरार देखाउने नियतले यस्तो हल्ला उब्जाएको हुनसक्ने बताएका छन्।

सैन्य संगठनको आधिकारिक धारणा : ‘लोकतन्त्रप्रति पूर्ण निष्ठा’

स्रोतका अनुसार नेपाली सेना संवैधानिक संरचना, लोकतान्त्रिक शासन पद्धति र नागरिक–निर्वाचित संस्थाहरूप्रति पूर्ण सम्मान राख्छ।
“राष्ट्रपति देशकै सर्वोच्च संवैधानिक पद हो। त्यस पदविरुद्ध सेना असंवैधानिक रूपमा उभिन्छ भन्ने कल्पना नै असम्भव छ,” जर्नेलले जोड दिए।

हौवा, भ्रम र भ्रामक एजेन्डाबाट सचेत रहन आग्रह

हालको राजनीतिक तनाव, सामाजिक माध्यममा फैलिएका जथाभावी अड्कलबाजी र भ्रामक सामग्रीले अनावश्यक भयअविश्वास बढाएको भन्दै जर्नेलले नागरिक तथा सञ्चार माध्यमलाई जिम्मेवार बन्न अनुरोध गरे।

“यस्ता हल्ला देशको स्थिरता र संवैधानिक व्यवस्थामै प्रहार हुन्छ,” उनले भने।

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
474 Shares