आईजीपी कार्कीको प्रमुख आतिथ्यतामा ३१औँ अन्तरविद्यालय आइजीपी फुटबल रनिङ ट्रफी सम्पन्न

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल साँगामा सञ्चालित ३१औँ अन्तरविद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता–२०८२ शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

समापन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगिताका विजयी टिम, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो। साथै म्याच रेफ्री तथा अफिसियलहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा सम्बोधन गर्दै आईजीपी कार्कीले यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै आत्मविश्वास, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। दैनिक शैक्षिक गतिविधिसँगै खेलकुदमार्फत जीवनका अमूल्य पाठहरू सिक्ने अवसर मिल्ने उल्लेख गर्दै उहाँले नवप्रतिभाको पहिचान र खेलकुदको प्रवर्द्धनका लागि यस्ता प्रतियोगिता अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको उल्लेख गर्दै आईजीपी कार्कीले विद्यार्थीहरूको रचनात्मक तथा सिर्जनात्मक क्षमताको अभिवृद्धिका लागि विद्यालयहरूले विविध सिर्जनशील गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। यसले विद्यार्थीहरूको समग्र बौद्धिक तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माण हुने उहाँको भनाइ थियो।

प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगा (रातो) ले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ। प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय तथा पिस पोइन्ट स्कुल, बानेश्वर तृतीय स्थानमा रहेका छन्।

नगद पुरस्कारतर्फ प्रथम हुने टिमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य राख्दै प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समापन समारोहमा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए भने नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले प्रस्तुत गरिएको थियो।

 

Facebook Comments Box
TOP
373 Shares