खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा ।शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् ।विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन् । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उनी भन्छन्, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।”

बाख्रा पालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँं तिहारजस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । दसैँ तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि केही वर्षयता कारोबार घटेको मानसिंह बताउछन् । “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलतोल बढी गर्छन्, मोल नै पाउँदैनौँ,” उनको गुनासो छ ।

दसैँ–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् । पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन् ।

दसैँ खर्च जोहो गर्न मलासबाट तराई झरेका किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश वनेका छन् । चवन्नवटा खसीबोका लिएर मलासबाट महेन्द्रनगर झर्र्नुभएका कुरेनीका गोरे धामी आउने ग्राहकलाई खसी बोका देखाइरहेका छन् तर मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेका उनको गुनासो छ ।

“थोरै मात्र बिक्री भएका छन्, बिक्री नहुँदा त्यसै घर फर्काउने पर्ने अवस्था छ”, उनी भन्छन्, “कोरोना पछि खसी बोका बिक्री नै भइरहेका छैनन्, चार÷पाँच वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो, त्यसले वर्षभरिको खर्च धानेको थियो ।”

गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान जीतबहादुर धामी बताउछन् ।

“खसी बोका केही हामीले पालेका छौँ, केही उधारोमा बिक्री गरेपछि दिने गरेर गाउँलेहरूबाट सङ्कलन गरेर ल्याएका छौँ”, उनी भन्नुहुन्छ, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ, बिक्री नहुँदा ऋण काढेर पनि गाउँलेको पैसा तिर्नुपर्छ ।”

भारतबाट आयात हुने खसी बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको उनको भनाइ छ । “भारतबाट सहजै आउने हुनाले त्यस्ता खसी बोकाले बजार बिगारेको छ, चाडबाडले धेरै यताउता गएकाले पनि यसपटक बिक्री हुन सकेन,” धामी भन्छन् ।

महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको मलासबाट झरेका किसानहरूको गुनासो छ । “अहिले भिनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसी बोका राख्ने ठाउँ छैन”, करे धामी भन्छन्, “त्यसले समस्या छ, ठाउँ उपलब्ध गराए त्यस बापतको पैसा तिर्न पनि तयार थियौँ ।”रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares