सुरक्षा संयन्त्रमै ‘भाइरस’: पूर्वएआईजीको भूमिकाले प्रहरी मनोबल संकटमा

काठमाडौं । भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ का घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै चौतर्फी विवाद चर्किएको छ। आयोगले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरी कमाण्डर र फिल्डमा रहेका कर्मचारीमाथि कारबाही सिफारिस गरेपछि प्रहरी संगठनभित्रै असन्तुष्टि र बाहिर आलोचना बढेको हो।

प्रहरी वृत्तमा आयोगको सिफारिसले संगठनको मनोबल कमजोर पार्ने चिन्ता व्यक्त गरिएको छ। २४सैँ घण्टा जनताको सुरक्षामा खटिने प्रहरीमाथि प्रत्यक्ष असर पर्ने गरी गरिएको सिफारिसले कार्यक्षमता र आत्मविश्वासमा नकारात्मक प्रभाव पार्ने भन्दै असन्तुष्टि बढ्दै गएको छ।

आयोगका सदस्यसमेत रहेका पूर्वएआईजी बिज्ञानराज शर्मा माथि समेत प्रश्न उठाइएको छ। प्रहरी वृत्तका अनुसार शर्माले पूर्वाग्रह राख्दै कारबाही सिफारिस गराउन भूमिका खेलेको आरोप लागिरहेको छ, जसले प्रतिवेदनको निष्पक्षतामाथि समेत प्रश्न खडा गरेको छ।

यसबीच, २०४६ सालको जनआन्दोलनपछिको अनुभवलाई पुनः स्मरण गर्न थालिएको छ। त्यतिबेला बनेको मल्लिक आयोग ले पनि प्रहरीमाथि कारबाही सिफारिस गरेको थियो। तर, तत्कालीन सरकारले संगठनको मनोबल, स्थायित्व र राष्ट्रिय सुरक्षामा पर्ने असरलाई ध्यानमा राख्दै प्रतिवेदनकै आधारमा कारबाही नगर्ने निर्णय गरेको थियो।

२०४७ असार १८ गतेको मन्त्रिपरिषद् निर्णयमा प्रहरीको विशेष भूमिका र आगामी आम निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै कारबाही नगर्ने उल्लेख गरिएको थियो। सो निर्णयमा ‘प्रहरी प्रशासनको स्थायित्व, कार्यकुशलता र आन्तरिक सुरक्षाको जिम्मेवारीलाई मध्यनजर गर्दै प्रतिवेदनका आधारमा कुनै कारबाही नगर्ने’ स्पष्ट भनिएको थियो।

विश्लेषकहरूका अनुसार त्यतिबेलाको निर्णयले नेपाल प्रहरीको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको थियो, जसका कारण संगठनले दीर्घकालसम्म प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न सकेको उदाहरण प्रस्तुत भएको छ।

यस्तै सन्दर्भमा वर्तमान कार्की आयोगको प्रतिवेदनलाई पनि सोही दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ। सुरक्षा निकायको मनोबल र उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने गरी निर्णय लिनुपर्नेमा जोड दिइँदै आएको छ।

Facebook Comments Box
TOP
477 Shares