

ईप्रका प्रमुखसहित प्रहरी संरचनामाथि गम्भीर प्रश्न, स्थानीय भन्छन्—“नाकानाकामा खुलेआम तस्करी”
सिम्रौनगढमा तस्करी मौलायोः प्रहरीकै मिलेमतोमा अवैध कारोबारको आरोप
काठमाडौं । मधेस प्रदेशको बारा जिल्लास्थित सिम्रौनगढ क्षेत्रमा तस्करी गतिविधि तीव्र रूपमा बढेको भन्दै प्रहरी संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ। विशेषगरी ईलाका प्रहरी कार्यालय (ईप्रका) सिम्रौनगढकै नेतृत्व तहको मिलेमतोमा अवैध कारोबार भइरहेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा व्यापक असन्तुष्टि देखिएको छ।
स्थानीय स्रोतका अनुसार, ईप्रका सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक किसुन्देव साह (केडी) को संरक्षणमा विभिन्न प्रकारका अवैध गतिविधि सञ्चालन भइरहेको दाबी गरिएको छ। प्रहरीको प्रमुख दायित्व शान्ति सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नु भए पनि, त्यसको विपरीत सीमावर्ती क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने समूहसँग नियमित रूपमा आर्थिक लेनदेन भइरहेको आरोप छ।
स्रोतहरूका अनुसार, पथालवा घाट, पिपरपाती, बैरिया, बेलदारी, खज्जानी र कोचोर्वा प्रहरी चौकीका इन्चार्जहरूसँग समन्वय गर्दै संकलित रकम माथिल्लो निकायसम्म पुर्याउने गरिएको बताइन्छ। नाम गोप्य राख्ने सर्तमा एक स्थानीय व्यवसायीले प्रहरी–तस्करबीचको मिलेमतोबारे पुष्टि गरेका छन्।
सिम्रौनगढ नाकाबाट ‘भोला’ र ‘दिपक’ समूहले दैनिक ५–७ मोटरसाइकलमार्फत कपडा तथा चिनियाँ स्याउ ओसारपसार गर्ने गरेको आरोप छ। त्यस्तै ‘सन्दीप’ समूहले तयारी कुखुरा र लत्ताकपडा १०–१२ मोटरसाइकलमार्फत सहज रूपमा भित्र्याउने गरेको स्थानीयको भनाइ छ।
अन्य नाकाहरूमा पनि यस्तै गतिविधि बढेको बताइएको छ। अमरपुर नाकाबाट कपडा, बैरिया क्षेत्रबाट धानको बीउ र मल, तथा कवलपुर घाटबाट ट्र्याक्टरमार्फत धान तस्करी भइरहेको दाबी गरिएको छ। साथै, पथालवा घाट, बैरिया र कोचोर्वाबाट कपडा र कुखुराका चल्ला तस्करी हुने गरेको बताइन्छ।
यसैबीच, रामनगर, खज्जानी र पथालवा घाट हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको आरोप पनि स्थानीयले लगाएका छन्। सीमावर्ती क्षेत्रहरूमा प्रहरीको सक्रियता कमजोर हुँदा तस्करहरू झन् हौसिएको गुनासो उनीहरूको छ।
देशमा पछिल्लो समय सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री र गृहमन्त्री आइसके पनि सिम्रौनगढ क्षेत्रमा सुरक्षा अवस्थाको सुधार नदेखिएको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार, राजनीतिक परिवर्तनको प्रभाव सीमावर्ती सुरक्षामा पर्न सकेको छैन।
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय बारा प्रमुख एसपी नरेन्द्र कुँवरलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन सकेनन्।
यस घटनाले सिम्रौनगढ क्षेत्रमा प्रहरीको भूमिका, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



