सीमावर्ती कडाइको असर: भारतीय बजारमा नेपाली सवारीलाई इन्धन रोकिएपछि मधेसमा दैनिक जीवन प्रभावित हुने चिन्ता

काठमाडौं । सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनमाथि नेपाल सरकारले कडाइ गर्ने निर्णयको प्रभाव अब दुवै देशका सीमा क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । मधेस प्रदेशसँग जोडिएका सीमावर्ती जिल्लामा बसोबास गर्ने नेपाली नागरिकहरूको दैनिक जीवन र आवागमनमा यसले असर पार्न थालेको छ ।

दीर्घ समयदेखि सीमावर्ती नेपालीहरू पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तु तथा सेवा सुविधाका लागि भारतीय बजारमा निर्भर रहँदै आएका थिए । तर पछिल्लो कडाइपछि यसको प्रत्यक्ष असर देखिन थालेको स्थानीयहरूले बताएका छन् ।

नेपालतर्फ भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप सीमापारि पनि प्रतिकूल कदम चालिएको छ । भारतको सीतामढी जिल्ला अन्तर्गत वैरगनिया क्षेत्र नजिकका नन्दबारा आसपासका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारी साधनलाई पेट्रोल उपलब्ध गराइने छैन’ भन्ने सूचना टाँस गर्दै इन्धन आपूर्ति रोक्न थालेका छन् ।

यस्तो निर्णय सीमावर्ती क्षेत्रमा नेपाली सवारी चालक तथा सर्वसाधारणका लागि ठूलो समस्या बनेको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य उच्च रहेकाले धेरै नेपालीहरू भारततर्फ गएर इन्धन भर्ने गरेका थिए । तर हाल भारतीय पम्पहरूले नै सेवा बन्द गर्न थालेपछि उनीहरूको दैनिकी थप प्रभावित भएको छ ।

स्थानीयवासीका अनुसार यस्तो अवस्था बढ्दै गएमा इन्धन मात्र नभई दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा समेत असर पर्न सक्ने आशंका गरिएको छ । त्यसले सीमावर्ती मधेस क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा गम्भीर प्रभाव पार्ने जोखिम देखिएको छ ।

Facebook Comments Box
TOP
186 Shares