५ वर्षमा १५ लाख रोजगारी: डिजिटल अर्थतन्त्रदेखि कृषि र हरित ऊर्जासम्म ‘बिग पुश’ योजना

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्यसहित ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ। स्वदेशमै दिगो रोजगारीको आधार निर्माण गर्ने उद्देश्यसहित ल्याइएको उक्त दस्तावेजले रोजगारीलाई अस्थायी राहत होइन, दीर्घकालीन आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ।

सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका घोषणापत्रको अध्ययन गरी तयार पारेको योजनामा दक्ष जनशक्ति पलायन रोक्ने विशेष कार्यक्रम समेटिएको छ। डाक्टर, नर्स, इन्जिनियरलगायत प्राविधिक जनशक्तिलाई देशमै टिकाइराख्न लक्षित पहल गरिनेछ भने स्थानीय तहमार्फत श्रम बजारको माग–आपूर्ति विश्लेषण गरी सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

डिजिटल युगलाई ध्यानमा राख्दै नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार गरिनेछ। रिमोट वर्क, डिजिटल रोजगारी र सीमापार सेवा निर्यातलाई प्राथमिकतामा राख्दै नयाँ अवसर सिर्जना गर्ने सरकारको योजना छ।

रोजगारी सिर्जनाका प्रमुख आधारका रूपमा सूचना प्रविधि, निर्माण, पर्यटन र व्यवसायिक कृषिलाई अघि सारिएको छ। त्यस्तै, भौतिक पूर्वाधार, सौर्य तथा वायु ऊर्जा, फोहर व्यवस्थापन जस्ता क्षेत्रमार्फत ‘बिग पुश’ अभियान सञ्चालन गर्दै हरित अर्थतन्त्रलाई समेत प्रवर्द्धन गरिनेछ।

डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धिको मुख्य इञ्जिनका रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी विस्तार गरिनेछ। उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाका लागि आवश्यक लगानी सुनिश्चित गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, परम्परागत सीपको प्रविधिसँग एकीकरण र उत्पादनको ब्रान्डिङमार्फत बजार विस्तार गर्ने योजना पनि समावेश गरिएको छ। साथै, श्रम संस्कृतिलाई प्रवर्द्धन गर्न अनिवार्य श्रमको अवधारणा अघि सार्दै श्रम बजारलाई सुरक्षित, मर्यादित र न्यायपूर्ण बनाउने नीति लिइनेछ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने विशेष कार्यक्रमसमेत सञ्चालन गरिनेछ। विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्न प्राविधिक तथा परामर्श सहयोग उपलब्ध गराइनेछ।

सरकारको यो योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा रोजगारी संकट न्यूनीकरणसँगै आर्थिक आत्मनिर्भरता र दिगो विकासतर्फ मुलुकले उल्लेखनीय फड्को मार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
150 Shares