रुपन्देही–३ का सांसद डा. लेखजंग थापामाथि चुनावी खर्च नतिरेको आरोप, होटल सञ्चालकको सार्वजनिक गुनासो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद डा. लेखजंग थापाले निर्वाचन अभियानका क्रममा भएको होटल खर्च अझै नतिरेको आरोप सार्वजनिक भएको छ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित ग्यालेक्सी गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक दिनेश पौडेलले सामाजिक सञ्जालमार्फत सांसद थापासँग सम्बन्धित बाँकी बक्यौता तिर्न अनुरोध गर्दै सार्वजनिक गुनासो व्यक्त गरेका छन्।

पौडेलका अनुसार निर्वाचन अभियानका क्रममा भएका विभिन्न बैठक, चिया–खाजा, लस्सी, मोमो, रक्सी लगायतका खर्च तथा उम्मेदवारको सुरक्षाका लागि बडीगार्ड बस्ने महिनौँ लामो कोठा बुकिङ खर्चसमेत गरेर कुल १ लाख २५ हजार ६ सय ४० रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ।

उनले सामाजिक सञ्जालमा लेख्दै उक्त रकम भुक्तानीका लागि पटक–पटक अनुरोध गर्दा पनि जिम्मेवार पक्षबाट कुनै ठोस पहल नभएको दाबी गरेका छन्। साथै, सांसदका ड्राइभर तथा बडीगार्डको कपडा धुलाई गरेका स्थानीय मजदुरलाई समेत करिब ३ हजार २ सय रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले उल्लेख गरेका छन्।

सञ्चालक पौडेलले यसअघि होटलको आधिकारिक पेजमार्फत राजनीतिक दल, सामाजिक संस्था तथा सम्बन्धित पक्षलाई सात दिनभित्र बक्यौता तिर्न आग्रह गर्दै सूचना सार्वजनिक गरेका थिए। पछि उनले उक्त पोस्ट हटाएको पनि जनाइएको छ।

यसैबीच, निर्वाचनमा ठूलो मतान्तरले विजयी भएपछि सांसद डा. थापाले स्थानीय कार्यकर्तासँग सम्पर्क टुटाएको र फोनसमेत नउठाउने गरेको गुनासो पनि सार्वजनिक रूपमा उठेको छ।

हालसम्म सांसद डा. लेखजंग थापा वा उनको सचिवालयबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

यस घटनाले चुनावी खर्च व्यवस्थापन, राजनीतिक पारदर्शिता र स्थानीय सेवा प्रदायकसँगको दायित्वबारे पुनः बहस चर्काएको छ।

Facebook Comments Box
TOP
339 Shares