इ–बिडिङ प्रणाली ह्याक गरी ठेक्का हत्याएको आरोपमा १० जना पक्राउ, पूर्वमन्त्री विक्रम पाण्डेसमेत अनुसन्धानमा

काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठुला सरकारी ठेक्का हत्याएको आरोपमा १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री ७४ वर्षीय विक्रम पाण्डे, विभिन्न निर्माण कम्पनीका सञ्चालक तथा ठेकेदारहरू समेत रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ६४ वर्षीय टंककुमार श्रेष्ठ, ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय सञ्जय भट्ट, ३५ वर्षीय भाष्करराज अर्याल, ४० वर्षीय सागर कटुवाल, ६२ वर्षीय जीवनकुमार दास र अनिल श्रेष्ठ पनि छन्। उनीहरूलाई २३ चैतदेखि ११ वैशाखसम्मको अवधिमा पक्राउ गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अन्तर्गतको साइबर ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ। सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार अनुगमन कार्यालयको इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियामा प्रभाव पार्ने कार्यमा उनीहरू संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै प्रणालीमा पहुँच बनाएर गोप्य दररेट प्राप्त गर्ने, त्यसै आधारमा कम मूल्य प्रस्ताव तयार गर्ने र ठेक्का आफ्नो पक्षमा पार्ने गतिविधि भएको पाइएको छ।

पक्राउ परेकामध्ये केही विभिन्न निर्माण कम्पनीसँग आबद्ध रहेको प्रहरीले जनाएको छ। विक्रम पाण्डे कालिका कन्स्ट्रक्सन र टंककुमार श्रेष्ठ भीषण कन्स्ट्रक्सनसँग सम्बन्धित रहेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराधसम्बन्धी कानुनी प्रावधानअनुसार अनुसन्धान अघि बढाएको छ। घटनामा थप संलग्नता र नयाँ तथ्यहरू खुल्न सक्ने भन्दै अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।

अनुगमन कार्यालयको प्रारम्भिक आन्तरिक अध्ययनपछि औपचारिक रूपमा जाहेरी दिइएको र त्यसपछि साइबर ब्युरोले विस्तृत अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार हालसम्म प्राप्त प्रमाणहरूले प्रणालीमा अनधिकृत पहुँच, डाटा चोरी र त्यसकै आधारमा ठेक्का हत्याउने योजनाबद्ध अभ्यास देखाएको छ।

Facebook Comments Box
TOP
465 Shares