खुला सीमाको फाइदा उठाउँदै रक्सौलबाट क्वारेन्टिन जाँचबिनै तरकारी वीरगन्ज भित्रिँदै

पर्सा । भारतको सीमावर्ती बजार रक्सौलबाट क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल लुकीछिपी वीरगन्ज भित्रिने क्रम तीव्र बनेको छ। पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमाना नाकाहरूको फाइदा उठाउँदै दैनिक रूपमा साइकलमार्फत ठूलो परिमाणमा तरकारी भित्र्याइँदै आएको हो।

वीरगन्ज महानगरपालिका र बाराको विभिन्न सीमावर्ती क्षेत्र—विश्रामपुर गाउँपालिका, नगवा, इनर्वा लगायत स्थानबाट ‘क्यारिङ’ गर्ने साइकल चालकहरूले बिहान सबेरैदेखि रक्सौलबाट तरकारी तथा फलफूल ओसार्ने गरेका छन्। सीमाको कमजोर निगरानीका कारण यस्तो गतिविधि नियमितजसो भइरहेको स्थानीयवासीको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले क्वारेन्टिन परीक्षणबिनै भित्रिने खाद्य सामग्रीले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन्।

“खुला सीमाको फाइदा उठाउँदै छपकैया, इनरुवा, विश्रामपुरलगायत क्षेत्रबाट साइकलमार्फत ठूलो मात्रामा तरकारी भित्र्याइँदै आएको छ,” भुजेलले भने, “स्थानीय प्रशासन र सशस्त्र प्रहरीले यसमा कडाइका साथ निगरानी गर्न जरुरी छ।”

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन परीक्षण पास भएका तरकारी तथा फलफूल मात्र आयात गर्न पाइने स्पष्ट पारेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले नियम विपरीत सामग्री भित्रिएको पाइएमा नियन्त्रण तथा आवश्यक कारबाही गरिने बताएका छन्। “क्वारेन्टिन जाँचबिनै कुनै पनि ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन,” उनले भने।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले मुख्य रूपमा बाराको विश्रामपुर गाउँपालिका नजिकको सीमावर्ती क्षेत्रबाट यस्तो अवैध आयात भइरहेको बताए। उनका अनुसार त्यहाँबाट भित्रिएको तरकारी वीरगन्ज बजारसम्म पुग्ने गरेको छ।

सीमामा निगरानी र समन्वय कमजोर हुँदा दैनिक उपभोग्य वस्तु क्वारेन्टिन परीक्षणबिनै बजारमा प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ, जसले उपभोक्ता सुरक्षामाथि प्रश्न उठाएको छ।

Facebook Comments Box
TOP
306 Shares