अमेरिकाबाट नेपाली सेनालाई विपद् उद्धारका लागि ६ हेलिकोप्टर सहयोग प्रस्ताव

काठमाडौं । अमेरिकी सरकारले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई सुदृढ बनाउन नेपाली सेनालाई करिब १०० मिलियन अमेरिकी डलर (झण्डै १५ अर्ब ४ करोड रुपैयाँ) बराबरका ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत आएको उक्त प्रस्ताव परराष्ट्र मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पुगेको छ। हाल नेपाली सेनाले यस सहयोगलाई स्वीकार गर्ने तथा यसको प्रयोगसम्बन्धी प्राविधिक पक्षबारे छलफल गरिरहेको बताइएको छ।

प्रस्तावित हेलिकोप्टरहरू विशेषगरी बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा प्रयोग हुनेछन्। यसले नेपालको आपतकालीन प्रतिक्रिया क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।

नेपालले यसअघि पनि अमेरिकी सहयोगअन्तर्गत हेलिकोप्टर तथा स्काई ट्रकजस्ता सैन्य विमान प्राप्त गरिसकेको छ, जसले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Facebook Comments Box
TOP
189 Shares