नील हिरा समाजको नाममा झापामा चन्दा सङ्कलन, स्थानीय त्रसित

झापा — झापाको बिर्तामोड, चारआली र काँकडभिट्टा क्षेत्रमा केही तेस्रोलिंगी व्यक्तिहरूले को परिचयपत्र देखाएर चन्दा सङ्कलन गरिरहेको पाइएको छ। नायक रुबिना किन्नर र मेघा किन्नरको तस्बिरसहितको कार्ड प्रयोग गर्दै चन्दा उठाउने कार्य बढेपछि स्थानीयमा त्रास फैलिएको छ।

कार्डमै ‘बिना परिचयपत्र कसैलाई पनि अनुदान नदिनु’ भन्ने उल्लेख गरिए पनि ‘नक्कली किन्नरदेखि सावधान’ भन्ने नोटसमेत राखिएको छ। तर स्थानीयका अनुसार रकम नै तोकेर जबरजस्ती चन्दा माग्ने, नदिँदा गालीगलौज र अभद्र व्यवहार गर्ने घटना बढ्दै गएका छन्।

स्थानीयवासीले प्रतिष्ठित संस्थाको नाम प्रयोग गरेर दबाब सिर्जना गरिँदा डरको वातावरण बनेको बताएका छन्। कतिपयले यस्तो गतिविधि संस्थाकै निर्देशनमा भइरहेको हो कि भन्ने आशंका समेत व्यक्त गरेका छन्।

यस विषयमा बिर्तामोड नगरपालिकाका सूचना अधिकारी जय तिम्सिनाले नगरपालिकामा अनौपचारिक रूपमा जानकारी आएको बताए। उनका अनुसार ८–१० जनाको समूह बनाएर चन्दा माग्ने गरिएको बुझिएको छ, तर औपचारिक छलफल भने भइसकेको छैन।

चन्दा सङ्कलनमा संलग्न भनिएकी मेघा किन्नरले भने आफूले प्रयोग गरेको कार्ड वैध रहेको दाबी गरेकी छन्। उनले आफूहरू ‘दुवा–आशीर्वाद’ दिने काम गर्ने र स्वेच्छाले दिएको रकम मात्रै लिने बताइन्। रकम तोकेर माग्ने आरोप उनले अस्वीकार गरेकी छन्।

त्यस्तै,ब्लु डाइमन्ड सोसाइटी झापा दमक शाखामा कार्यरत रुबिना नेपालको नामसमेत यस प्रकरणमा जोडिएको छ। उनीमाथि तेस्रोलिंगी समुदायलाई परिचालन गरेर चन्दा सङ्कलनमा सक्रिय बनाएको आरोप लागेको भए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे जानकारी पाइसकेको जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्।

यस घटनाले सम्मानपूर्वक जीवनयापन गरिरहेका तेस्रोलिंगी समुदायको छविमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ। स्थानीय र अधिकारकर्मीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र समुदायको गरिमा जोगाउन माग गरेका छन्।

Facebook Comments Box
TOP
240 Shares